• १९ चैत २०८१, मङ्गलबार

कोरिया छाडेर शिक्षण पेसामा

blog

दरैठाँटी माविमा हाजिर हुनुभएकी पार्वती घर्ती ।

रामपुर समाचारदाता 

रामपुर (पाल्पा), चैत १७ गते । अमेरिका, युरोपलगायतका मुलुकसँगै दक्षिण कोरिया नेपाली युवाको रोजाइको श्रम गन्तव्य हो । राम्रो कमाइ हुने भएकाले बेरोजगार मात्र होइन, स्थायी जागिर भएका पनि भाषा परीक्षा उत्तीर्ण गरी विदेश पलायन भएका उदाहरण धेरै छन् । 

दक्षिण कोरिया पुगेकी पार्वती घर्ती भने शिक्षक सेवा आयोगबाट प्राथमिक तह तृतीय श्रेणी स्थायी शिक्षकमा सिफारिस भएसँगै स्वदेश फर्किएर शिक्षणमा लाग्नुभएको छ । पाल्पाको रामपुर नगरपालिका–३, रजघराका ३३ वर्षीय घर्ती शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाबाट गत चैत ११ गते नियुक्त हुनुभएको हो । रामपुर नगरपालिका सिफारिस हुनुभएका उहाँ १२ गते विद्यालय छनोट पश्चात दरैठाँटी मावि रामपुर–६ मा हाजिर हुनुभएको छ । 

नवदुर्गा प्रावि रामपुर–३ मा सात वर्ष करार शिक्षकमा सेवा गर्नुभएका पार्वती राजीनामा दिएर गत कात्तिकमा ई सेभेन भिसामा दक्षिण कोरिया जानुभएको थियो । कोरियामा कार्यरत श्रीमान् ईश्वर खाणसँग पुगेकी घर्तीले आयोगको लिखित परीक्षाको नतिजा आएसँगै अन्तर्वार्ताका लागि गत माघ २५ मा नेपाल फर्किएको बताउनुभयो । 

सबैलाई ज्ञान बाँड्न पाइने भएकाले शिक्षण पेसा सबैभन्दा सम्मानित पेसा भएको उहाँले बताउनुभयो । घर्तीले शिक्षण पेसा सबै पेसाको जननी भएको बताउनुभयो । आयोगबाट तेस्रो पटक नाम निकाल्न सफल घर्तीले अब निमावि र मावि तहको तयारी गर्ने योजना सुनाउनुभयो ।