• १९ चैत २०८१, मङ्गलबार

सदनमा सदस्यको हाँसोले हङ्गामा

blog

‘शून्य समय’ मा बोल्नुहुँदैकर्णाली प्रदेश सभा सदस्य कलबहादुर हमाल

बुलबुले समाचारदाता 

सुर्खेत, चैत १७ गते । यतिबेला कर्णालीमा प्रदेश सभा सदस्यको हाँसोले हङ्गामा मच्चिएको छ । कर्णाली प्रदेश सभाको पाँचौँ अधिवेशनको २५ औँ बैठकको ‘शून्य समय’ मा बोल्दै प्रदेश सभा सदस्य कलबहादुर हमाल खित्का छोडेर हाँस्नुभएको थियो । सभामा उहाँ मात्र हाँस्नु भएको थिएन, सभामुखदेखि मुख्यमन्त्रीसम्म सबैको हाँसो रोकिएन । जसको सामाजिक सञ्जालमा चर्चा र चर्को आलोचना पनि भइरहेको छ । 

सभामुख नन्दा गुरुङले उहाँलाई शून्य समयमा आफ्नो भनाइ राख्न समय दिनुभयो । हमालले माइक समात्नेबित्तिकै ‘शून्य समय सदुपयोग गरिहालौँ’ भन्दै खित्का छाडेर हाँस्नुभएको थियो । उहाँले सुरुमा हाँसेको भए पनि शून्य समयको भने सदुपयोग नै गर्नुभयो । हुम्ला जिल्लाको सडकको अवस्थाबारे सरकारलाई ध्यानाकर्षण गराउनुभयो । 

जिल्लाका धेरै ग्रामीण सडक अधुरा रहेको र आउँदो वर्षको बजेटमा समेटेर सडक निर्माण कार्य अघि बढाउनुपर्ने जानकारी दिनुभयो । काम नगर्ने ठेकेदारको कामको विवरणका आधारमा मूल्याङ्कन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

त्यसै गरी सुर्खेतकेन्द्रित हुने संस्थालाई विकट क्षेत्रमा कार्यक्रम कार्यान्वयन गर्न सुझाव दिनुभयो तर अहिले यो विषयले सामाजिक सञ्जालमा ठाउँ पाएको छैन । सुरुमा १० सेकेन्डमा प्रदेश सभा सदस्य हमालले ‘शून्य समयको सदुपयोग गरिहालौँ’ भन्दै हाँसेको भिडियोको चर्चा र आलोचना भइरहेको छ । आफू सदनमा नियतवश खित्का छोडेर नहाँसेको प्रतिक्रिया दिँदै आगामी दिनमा यस्तो नगर्नेसमेत बताउनुभएको छ । 

प्रदेश सभासदहरूका अभिव्यक्ति बेलाबखत चर्चा र आलोचनामा परिरहन्छन् । गत माघ १० गतेको प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकको विशेष समयमा पूर्व जलस्रोत तथा ऊर्जा विकासमन्त्रीसमेत रहनुभएकी प्रदेश सभा सदस्य उर्मिला विश्वकर्माले बोलेको कुरालाई लिएर पनि चर्को आलोचना भएको थियो । त्यतिबेला विश्वकर्माले पनि गलत तथ्य बोल्नुभएको थियो । 

बैठकमा बोल्दै उहाँले भारतमा रेल दुर्घटनामा ६० जना नेपालीको मृत्यु भएको बताउनुभएको थियो । उक्त तथ्य गलत थियो । रेल दुर्घटनामा परेको सही थियो तर मृतकको सङ्ख्या भने उहाँले बढाएर प्रस्तुत गर्नुभयो । भारतमा भएको दुर्घटनामा सात जना नेपालीको मृत्यु भएको थियो । फेसबुकबाट साभार गरिएको तथ्याङ्कले त्रृटि भएको विश्वकर्माले बताउनुभयो । हतारमा विषयवस्तु उठान गर्दा त्रृटि भएको उहाँको भनाइ छ । 

नसुनिने शून्य समय 

संसद्मा जनसरोकारका विषय उठानका लागि सांसद्लाई शून्य समय तोकिएको हुन्छ । संसद्मा उठेका विषयप्रति सरकार गम्भीर नभएको गुनासो सांसदले गर्ने गर्छन् । अझ शून्य समयमा उठाइएका विषय कसैले नसुन्ने भयो भनेर प्रत्येक जसो बैठकमा सरकारको ध्यानाकर्षण गराउने गरिएको छ । एउटै विषय पटक पटक उठाउँदासमेत सम्बोधन नभएपछि सांसदहरू शून्य समयको अभ्यास र औचित्यमाथि नै प्रश्नमिश्रित व्यङ्ग्य गर्न थालेका छन् । यो समयमा उठान भएका विषयमा सरकारले खासै चासो नदिने गरेको प्रदेश सभा सदस्य कल्याणी खड्का बताउनुहुन्छ । शून्य र विशेष समयमा उठाएका विषयलाई सरकारले जवाफ दिनुपर्ने व्यवस्था छ । शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सभामुखमार्फत सदनलाई उपलब्ध गराउनुपर्ने हुन्छ । कर्णाली प्रदेश सभामा त्यसको कमै मात्र अभ्यास भएको छ । सरकारले जवाफ नदिएको भन्दै पछिल्लो पटक प्रदेश सभा सदस्य मङ्गलबहादुर शाहीले संसद् बैठकमा एक्लै उभिएर विरोधसमेत जनाउनुभएको थियो ।