ढाका, चैत १५ गते । बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ फौजदारी मुद्दा दायर गरेको शुक्रबार जनाएको छ ।
गत अगष्टमा विद्यार्थी नेतृत्वको क्रान्तिमा सत्ताच्युत भएपछि हसिना अहिले छिमेकी मुलुक भारतमा निर्वासित अवस्थामा हुनुहुन्छ ।
पूर्व प्रधानमन्त्री हसिना र उहाँको अवामी लिग पार्टीका शीर्ष नेता तथा कार्यकर्ता वफादारहरू विरुद्ध धेरै आपराधिक अभियोगहरू जारी गरिएका छन् । हसिना नेतृत्वमा रहँदा सुरक्षा बलहरूले गत वर्षको विद्यार्थी आन्दोलनका समयमा सयौँ प्रदर्शनकारीहरूको हत्या गरेको थियो ।
गत डिसेम्बरमा अवामी लिगका करिब ६०० सदस्यको उपस्थितिमा भएको भर्चुअल बैठकमा हसिनालाई सत्तामा फर्काउने उद्देश्यले ‘बङ्गलादेशमा गृहयुद्ध छेड्ने’ षड्यन्त्र रचेको प्रहरीले उल्लेख गरेको छ ।
“देशभित्र र बाहिर रहेका अवामी लिग समर्थक धेरैले अन्तिम अवस्थासम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएका हसिनाविरूद्धको मुद्दामा उल्लेख गरिएको छ ।
प्रहरी प्रवक्ता जसिम उद्दीन खानले एएफपीसँग कुरा गर्दै सुरुमा हसिना र अन्य ७२ जनाविरुद्ध आरोप लगाइएको तर अनुसन्धान अघि बढेसँगै प्रतिवादीको सङ्ख्या बढ्न सक्ने बताउनुभयो ।
“भर्चुअल मिटिङमा ५७७ जना सहभागी भएका थिए । हामी उनीहरूको भूमिकाबारे अनुसन्धान गरिरहेका छौं र यदि षडयन्त्रमा संलग्न भएको पाइएमा उनीहरूमाथि मुद्दा चलाइनेछ,” उहाँले भन्नुभयो ।
यस वर्षको सुरुमा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयको एक प्रतिवेदनमा हसिनाको सरकारले गत वर्ष सत्तामा टिक्ने प्रयासमा प्रदर्शनकारीहरूमाथि सुनियोजित आक्रमण र हत्याका लागि जिम्मेवार रहेको उल्लेख गरेको थियो ।
अहिले नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसले बङ्गलादेशको नेतृत्व सम्हालिरहनुभएको छ । उहाँको कामचलाउ सरकारलाई सन् २०२६ को जुनमा हुने नयाँ निर्वाचनअघि लोकतान्त्रिक सुधारको कार्यान्वयन गर्ने जिम्मेवारी दिइएको छ । रासस/एएफपी