ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि वसन्तयाममा ४२ जनाले अनुमति लिएका छन् । अनुमति लिएका आरोहीहरू आधार शिविर पुग्न थालेका छन् ।
पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालिन यामका लागि चार समुहका ३० पुरुष र १२ महिला गरी ४२ जनाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको साहसिक तथा पर्वतारोहण शाखा निर्देशक आरती न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, "वसन्तकालिन यामको अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि अनुमति दिन थालिएको छ । अहिलेसम्म ४२ जनाले अनुमति लिएका छन् । अघिल्लो वर्ष भन्दा यसपाली अन्नपूर्ण हिमाल आरोहण गर्न अनुमति लिने आरोहीहरू बढेका छन् ।"
उहाँका अनुसार आरोहीबाट एक करोड ४७ लाख ९ हजार चार सय २० रुपियाँ रोयल्टी समेत सङ्कलन भएको छ । अघिल्लो वर्षको वसन्तकालिन यामको आरोहणका लागि २५ जनाले अनुमति लिँदा ५९ लाख ६१ हजार सात सय ८० रुपियाँ रोयल्टी सङ्कलन भएको थियो ।
वसन्तकालिन याम सुरु भएसँगै अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमागमा पर्यटक र आरोहीहरूको चहलपहल सुरु भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, "वसन्तयामको हिमाल आरोहणका लागि अनुमति लिएका स्वदेशी तथा विदेशी आरोहीहरू, पथप्रदर्शक, शेर्पा,भरिया र सहयोगीहरू आधार शिविर पुग्न थालेका छन् । गत वर्षभन्दा यसपाली धेरै आरोहीले अन्नपूर्ण आरोहणको अनुमति लिएकाले यस क्षेत्रमा चहलपहल बढ्ने देखिएको छ ।"
वसन्त ऋतुमा अन्नपूर्ण हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिने उहाँले बताउनुभयो । यसैगरी पर्यटकीय सिजन सुरु भएसँगै अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ । नारच्याङ देखि सुरु हुने मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा पर्यटकको चहलपहल बढेको उहाँले बताउनुभयो ।
अन्नपूर्णको भ्रमणमा जाने पर्यटकहरूलाई लक्षित गरेर पदमार्ग र आधार शिविर क्षेत्रमा अस्थायी संरचना पालसहित आश्रयस्थल निर्माण गरी खाना र खाजा खुवाउने र बस्ने व्यवस्थाले पर्यटकलाई सहज भएको छ । यसअघि खाने र बस्ने समानहरू पर्यटक आफैंले बोकेर लैजानुपर्ने बाध्यता थियो । गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरूले चिया पसल, रेष्टुरेन्ट र बस्न शिविर (क्याम्प) सञ्चालन गरेका छन् ।
फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाँफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा शिविर सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजाले बताउनुभयो । पर्यटकलाई सुविधा दिएसँगै आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेको उहाँले बताउनुभयो ।
मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला आकर्षित भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै समुन्द्री सतहबाट चार हजार १०० मिटरको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । आधार शिविरमा रहेको सुन्दर पञ्चकुण्ड तालले पर्यटकलाई थप आकर्षित गरेको छ ।
७५ वर्षअघि फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै विसं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको उक्त पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा मौरिस हर्जोग नामारण गरी पदमार्ग सञ्चालन गरेको थियो ।
अन्नपूर्णको अहिले सम्म चार सय ८८ जनाले सफल आरोहण गरेका छन् । आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा आगामी जेठ २० गते गाउँपालिकाले अन्नपूर्ण आधार शिविरमा विशेष कार्यक्रमको तयारी गरेको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत आउनुहुने कार्यक्रम तय भएको छ ।
उक्त दिन प्रथम हिमाल आरोही मौरिस हर्जोगको श्रीमती,छोरा माथिएस हर्जोग,दस जना विदेशी आरोही,विदेशी पत्रकार लगायत आधार शिविर पुग्ने कार्यक्रम तय भएको अन्नपूर्ण दिवस समारोह समितिका सदस्य समेत रहनुभएका पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो ।
मौरिस हर्जोग पदमार्ग र आधार शिविरलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले खुला सङ्ग्रहालय लगायतका पूर्वाधा निर्माण थालिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारत पुन ले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा एक करोड २५ लाख रुपियाँ लागतमा पूर्वाधार निर्माण थालिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको एक करोड, नेपाल पर्यटन बोर्डको २० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग र चिया पसल निर्माण थालिएको पालिका अध्यक्ष पुनले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।