अमरराज नहर्की
तनहुँ, चैत १५ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँको गृह जिल्ला तनहुँका स्थानीयवासीले अलपत्र परेको पुल निर्माणलाई पूरा गर्न शुक्रबार ध्यानाकर्षण गराउनुभएको छ ।
तनहुँको आँबुखैरेनी–५ र भरतपुर–२९ जोड्ने त्रिशुलीनदीमाथि बन्ने पुल ११ वर्ष अघि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले काम नगरेपछि अधुरो छ । पुल नबन्दा स्थानीयको दैनिक जीवन कष्टकर भएको भन्दै बुद्धसिंह मार्गका उपभोक्ताले ध्यानाकर्षण गराएका हुन् ।
निर्माणका लागि पहल गरिदिन राष्ट्रपति पौडेललाई बुद्धसिंह मार्ग पुल निर्माण सङ्घर्ष समितिका अध्यक्ष सिद्धबहादुर थापा सिद्धान्त, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिमबहादुर राना, सङ्घर्ष समितिका सचिव कमल गुरुङ, अर्थ सचिव हर्कबहादुर थापा एचबी, सदस्यहरु धनबहादुर गुरुङ, चुमबहादुर थापा, अरुणकुमार थापा, रामबहादुर गुरुङ, सङ्गत गुरुङ र रेशमबहादुर गुरुङलगायतले ध्यानाकर्षण गराउनुभएको हो ।
तनहुँको सदरमुकाम दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । बुद्धसिंह मार्ग मुग्लिन–चितवनमा जोडिएपछि दमौलीबाट चितवन पुग्न ३० किलोमिटर छोटो पर्दछ । पृथ्वी राजमार्गको डुम्रे, आँबुखैरेनी, मुग्लिन हुँदै घुमेर घुमाउने पुग्नभन्दा बुद्धसिंह मार्गबाट जाँदा दूरी कम पर्ने भएकाले इन्धन खपत हुनेछ ।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा पुल निर्माण समयमै हुन नसकेको जानकारी दिनुभयो । १०५ मिटर लम्बाइ रहेको पुलको लागत नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गको घुमाउनेको उक्त मोटर गुड्ने पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहुँको प्राविधिक सहयोगमा निर्माण हुँदैछ ।
निर्माणको काममा ढिलाइ भए पनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा लामो समयदेखि पुल अलपत्र परेको छ । लामो समयदेखि पुल निर्माण नहुनु तथा सडक स्तरोउन्ती नभएपछि बुद्धसिंह मार्गका उपभोक्ता आन्दोलित छन् ।
उपभोक्ताले सडक अवरोध गर्नुका साथै सडकमै धर्ना दिँदै आइरहेका छन् । पुल अलपत्र पर्दा निर्माण नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वीराजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो, तर पुल अहिलेसम्म फाउण्डेशनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ ।
सडक डिभिजन कार्यालयले सम्झौताअनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटकपटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएकाले आन्दोलित हुनु परेको सङ्घर्ष समितिले जनाएको छ । पुल निर्माणमा दबाब दिने उद्देश्यले गठित सङ्घर्ष समितिले उक्त घुमाउनेको पुलको तत्काल निर्माण कार्य सुरु गर्न माग गरेको छ । करिब ११ वर्ष अगाडि सम्झौता अनुसार १०५ मिटर लम्बाई र फुटपाथसहित ११ मिटर चौडाई डिजाइनमा रहेको घुमाउने पुल निर्माण कार्य हालसम्म ३० प्रतिशत उल्लेख विवरणमा प्रगति देखिन्छ । यही कार्यले गति पाउने हो भने पुल सम्पन्न हुन करिव ३३ वर्ष समय लाग्ने देखिन्छ अर्थात पुल निर्माण हुँदैन भन्ने अर्थ लाग्ने सङ्घर्ष समितिले जनाएको छ ।
त्रिशूली नदीमाथि निर्माण भइरहेको पुल दश वर्ष सम्म पनि पूरा नहुनु र अन्य चार खोलाहरूमा पुल नहुँदा आवतजावतलाई समस्या भएकाले स्थानीय आन्दोलित हुनु परेको सङ्घर्ष समितिका अध्यक्ष थापा बताउनुहुन्छ । घुमाउने पुलको साथै सुडे खोला, ढाँड खोला, खानीखोला, बाखेखोला, भुत खोला, बन्दिपुर ६ र देवघाट ३ जोड्ने मोटरेबलपुल र व्यास १४ र देवघाट २ जोड्ने मोटरेबलपुल नहुँदा आवत जावतमा समस्या परेको समितिले जनाएको छ । समितिका अनुसार राष्ट्रपतिपछि प्रधानमन्त्री, अर्थमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट गर्ने कार्यक्रम छ । यस अघि बिहीबार प्रतिनिधिसभा सदस्य डा. स्वार्णिम वाग्ले, राष्ट्रियसभा सदस्य सुरेश आले मगरलाई भेट गरिसकिएको छ ।