• १८ चैत २०८१, सोमबार

स्याङजा-पर्वत सडक खण्ड : ३२ वर्षपछि कालोपत्रे

blog

वालिङ–हुवास सडक खण्ड अन्तर्गत वालिङ नगरपालिका–९ मा सडक कालोपत्रेको तयारी गरिँदै । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे 

वालिङ(स्याङजा),चैत १५ गते । स्याङ्जाबाट पर्वतको दक्षिणी भेगलाई जोड्ने सडक ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्रे गर्न सुरु गरिएको छ । विसं २०४९ मा ट्रयाक खोलिएको वालिङ–हुवास सडक कालोपत्रे गर्ने काम सुरु भएको हो । 

लामो समयसम्म कच्ची सडक भएका कारण दुई जिल्लाका नागरिकहरू कष्ट पूर्ण यात्रा गर्न बाध्य थिए । यो सडक सडक अन्तर्गत भुम्रे–अर्चलबोट–तमादी–डुम्रेभञ्ज्याङसम्मको कालोपत्रेको काम चलिरहेकोे सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी तथा इन्जिनियर ध्रुव पोखरेलले जानकारी दिनुभयो । निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत काम भइरहेको सूचना अधिकारी पोख्रेलको भनाइ छ । 

एक निर्वाचन क्षेत्र एक रणतीतिक सडक अन्तर्गत २०७९ मा आरएस टुन्डीसँग सम्झौता भएको भए पनि ढिलो गरी काम सुरु भएको उहाँले जानकारी दिनुभयो । २१ करोडमा ठेक्का लागेको सडकमा १३ करोड जतिको काम भएको भन्दै ८ करोड अन्तर्गतको कालोपत्रे बाँकी रहेको उहाँको भनाइ छ । 

वालिङ–हुवास सडकको स्याङ्जा खण्डको निर्माणका लागि ४ करोडको अर्काे ठेक्का पनि लाग्ने क्रममा रहेको इन्जिनियर पोख्रेलको भनाइ छ । टेन्डर भएको र आर्थिक प्रस्ताव खुल्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो । 

सङ्घीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि चार करोड विनियोजन भएको कार्यालयको भनाइ छ । 

दुई जिल्ला जोड्ने सडकको पर्वत तर्फको सडक पहिले नै कालोपत्रे भइसकेको छ तर स्याङ्जा खण्ड भने कच्ची नै रहेको थियो । वालिङ–हुवास सडक १६ किलोमिटर लामो छ । सडक जीर्ण हुँदा यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न घण्टौँ समय लाग्ने गरेको छ भने जोखिम पनि उत्तिकै छ । 

सडक कालोपत्रे भएपछि सिद्धार्थ राजमार्ग र कालीगण्डकी कोरिडोरलाई एक आपसमा जोड्ने वालिङ नगरपालिका–१४ का वडाध्यक्ष बोधराज कुँवरले बताउनु भयो । उहाँले भन्नुभयो,“दुई राजमार्गलाई जोड्ने छोटो तथा  वैकल्पिक मार्गको रूपमा यो सडकलाई प्रयोग गर्न सकिन्छ ।”