• १८ चैत २०८१, सोमबार

तातोपानी कुण्डमा पूर्वाधार निर्माण गरिँदै

blog

सेर्काकु तातोपानी कुण्डमा पूर्वाधार निर्माण हुँदै । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत १५ गते ।
कालिगण्डकी कोरिडोरमा पर्ने तातोपानी कुण्डलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको छ ।

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालिगण्डकी नदी किनारमा अवस्थित जिल्लाको अन्नपूर्ण गाउँपालिका १ सेर्काकुस्थित तातोपानी कुण्डमा पूर्वाधार निर्माण थालिएको हो । बेनी–जोमसोम सडकको तिप्ल्याङ–महभिर जोड्ने मोटरेबल पुलदेखि पाँच सय मिटर नजिकै प्राकृतिक तातोपानी स्थल रहेको छ ।

संघीय सरकारको विशेष अनुदान मार्फत प्राप्त भएको बजेटबाट सेकार्कु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि गाउँपालिकाले २०८१ असार ६ गते कालीगण्डकी निर्माण सेवा प्रालिसँग २०८३  जेठ ३० गते सम्म निर्माण सम्पन्न गर्ने गरी एक करोड १७ लाख ६० हजार छ सय ८५ रुपियाँमा ठेक्का सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताउनुभयो ।

उहाँका अनुसार कुण्डमा पानी सङ्कलन पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुरेन्टका लागि आवश्यक पूर्वाधार थालिएको छ । म्याग्दी र मुस्ताङको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर तातोपानी कुण्डमा पूर्वाधार निर्माण गर्न लागिएका गाउँपालिका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । कुण्ड व्यवस्थित भएपछि स्नान गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कालिगण्डकी नदी किनारमा मुलबाट निस्केको प्राकृतिक तातोपानीलाई व्यवस्थित गरेर पर्यटन प्रवद्र्धन गर्ने पालिकाको लक्ष्य छ । यसले पालिकाको अन्तरिक आम्दानीमा टेवा पुर्‍याउँछ ।’’ बेनी–जोमसोम सडक किनारमा भएकाले म्याग्दी र मुस्ताङको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

मुहानदेखि छ सय मिटर तल दुई इञ्चको युपिभिसी पाइपबाट ल्याइने तातोपानी सङ्कलन गरेर स्नानका लागि ११ दशमलव २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ भएको पोखरी निर्माणको भइरहेको गाउँपालिकाका सव–इन्जिनियर मोहम्मद करिमुल्लाह मियाँले बताउनुभयो । उहाँका अनुसार निर्माण व्यवसायीले तातोपानी सङ्कलनका लागि मुहानमा तीन वटा इन्टेक र पाइपलाइन जडानको तयारी गरेको छ । उहाँका अनुसार योजनाको हाल सम्म ६५ देखि ७० प्रतिशत भौतिक प्रगति भएको छ । 

यहाँ ५० डिग्री सेल्सियस प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी सङ्ककलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने विश्वास छ ।