• १८ चैत २०८१, सोमबार

यात्रु बनेर मुख्यमन्त्री सिंहद्वारा लाइन होटलको अनुगमन

blog

धनुषाको लालगढस्थित लाइन होटलको अनुगमन गर्नुहुँदै मुख्यमन्त्री सतिशकुमार सिंह । तस्बिर : विजयकुमार साह

विजयकुमार साह
ढल्केबर, चैत १५ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यात्रु बनेर बिहीबार राति धनुषाको मिथिला नगरपालिका–१०, लालगढमा रहेका लाइन होटलको अनुगमन गर्नुभएको छ । लालगढका होटलहरूमा बासी र गुणस्तरहीन खाना खुवाउने तथा यात्रुहरूबाट महङ्गो शुल्क असुल्ने गरेको गुनासो बढेपछि उहाँ नेतृत्वको टोलीले रातिको समयमा अनुगमन गर्नुभएको हो ।

नी निजी नम्बर प्लेटको माइक्रोबसमा यात्रु बनेर सादा पोशाकका सुरक्षाकर्मी र अनुगमन टोलीसहित होटलहरुमा पुग्नुभएको थियो । अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले होटल सञ्चालकहरूसँग बस चालक र सहचालकलाई दिइने कमिसनबारे पनि सोधपुछ गर्नुभयो । सञ्चालकहरूले यात्रुको सङ्ख्याका आधारमा दैनिक, साप्ताहिक वा मासिक रूपमा केही रकम दिने गरेको स्वीकार गर्नुभयो ।

अनुगमनका क्रममा कतिपय होटलहरूमा भान्साघर फोहर रहेको, दाल बेसारपानी मात्र भएको, सागसब्जी राम्रोसँग नपखालिएको, माछामासुको ताजगी यकिन गर्न नसकिने, यात्रुहरूले नखाए पनि पैसा तिर्नुपरेको समस्या देखिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमन टोलीमा रहेका साना उद्योग तथा घरेलु कार्यालय जनकपुरधामका प्रमुख सन्तोष साहले होटलहरूलाई जारको पानी अनिवार्य रूपमा दिन, शौचालय सफा राख्न, म्याद गुज्रेका सामग्री नबेच्न तथा शाकाहारी र मांसाहारी खाना छुट्याएर ग्राहकलाई दिने निर्देशन दिइएको बताउनुभयो ।

मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले खाद्य सुरक्षाका लागि अनुगमनलाई निरन्तरता दिइएको बताउनुभयो । अनुगमनपछि सुधार नभए कारबाही गरिने चेतावनीसमेत दिइएको उहाँले जानकारी दिनुभयो । 

लालगढमा होटल ग्रीन हाउस, होटल कोशी, दिदिभेना होटल, गिरी होटल एण्ड खाजाघर, र होटल लालगढ लालीगुराँसलगायत एक दर्जन लाइन होटलको अनुगमन गरिएको बताइएको छ । अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, साना उद्योग तथा घरेलु कार्यालयका प्रतिनिधि, तथा सुरक्षाकर्मी सहभागी रहनुभएको थियो ।