• १९ चैत २०८१, मङ्गलबार

विद्यार्थीले छतमै फलाउँछन् तरकारी

blog

बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यामिक विद्यालयको छतमा आफूले लगाएका तरकारी स्याहार्दै विद्यार्थी ।

नवराज नेपाली

बागलुङ (गलकोट), चैत १५ गते । विद्यार्थीले अतिरिक्त क्रियाकलापलाई सदुपयोग गर्दै कौसीमा नै तरकारी फलाएका छन् । बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौशीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन् ।

उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग हुनेगरेको छ । विद्यालयको चमेना गृहमा विद्यालयकै छतमा फलेका तरकारीको परिकार पाक्छ । विद्यार्थी आफैले पकाउँछन् र बिक्री गर्छन् ।

तीन वर्ष पहिले यहाँका विद्यार्थीले ५०–५० रुपियाँ सङ्कलन गरेर ५० वटा गमला किनेका थिए । गमलामा सिजन अनुसारको तरकारी रोप्थे । फलेपछि शिक्षक विद्यार्थीले बाँडेर खान्थे । विद्यार्थीलाई उत्पादनसँग जोड्न, स्थानीय पाठ्यक्रम अनुसार विद्यालयले ‘स्थानीय उत्पादन’ शिर्षकमा ५० पूर्णाङ्कको प्राक्टिकलका लागि विद्यार्थीलाई तरकारी खेती गर्न प्रोत्साहित गरेको थियो ।

तित्याङका विद्यार्थीले गमलामा तरकारी खेती गरेको सूचना पाएपछि सामाजिक क्षेत्रमा सक्रिय रहेको सिवाइसी नेपाल विद्यालयमै पुग्यो । सिवाइसीले शिक्षक विद्यार्थीसँग छलफल गरेपछि कक्षा ६ देखि १० सम्मका १६ जना विद्यार्थीलाई समेटेर थ्री जेरो क्लब गठन गरेको थियो ।

जिल्लाका ३५ भन्दा बढी विद्यालयमा ‘शून्य गरिबी, सुन्य बेरोजगारी र सुन्य कार्बन उत्सर्जन’ थ्रि जेरो नामक क्लब गठन गरेर विद्यार्थीलाई व्यावसायिकतामा जोड्ने काम गर्दै आएको सिवाइसीले तित्याङका विद्यार्थीलाई पनि क्लबमा आबद्ध गरेपछि यहाँका विद्यार्थी थप उत्साहित भएर कौसी खेतीमा संलग्न भएका थिए ।

तीन वर्ष पहिलेदेखि अभ्यास शिक्षण प्राक्टिकलका लागि गमलामा तरकारी खेती गर्दैआएको विद्यार्थीलाई २०८१ साउन महिनामा सिवाइसीले बिउबिजनसहित कृषि सामग्री समेत उपलब्ध गराएको थियो । मल, तरकारीको बिउ र नर्सरी व्यवस्थापनका लागि विभिन्न उपकरण समेत सिवाइसीले क्लबलाई उपलब्ध गराएको थियो । त्यसयता पक्की भवनको छतमै नर्सरी स्थापना गरेर तरकारी फलाउन विद्यार्थी सफल भएको मात्र छैनन्, आफैले उत्पादन गरेको तरकारी दिवा खाजामा प्रयोग हुँदैआएको छ ।

त्यसपछि त यहाँका विद्यार्थीले विद्यालयमा मात्र होइन, घर–घरमा पनि तरकारी खेती गर्न सुरु गरेका छन् । विद्यार्थीले विद्यालयमै नर्सरी व्यवस्थापन गरेर घर–घरमा तरकारी बिरुवा पुगाउने गरेका छन् । 

कक्षा शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन समेत विद्यार्थी उत्साहित भएर विद्यालय आउँछन्, नर्सरी र तरकारी खेतीमा रमाउछन्, विद्यालयको थ्रि जेरो क्लबका संरक्षक तथा शिक्षक भुपेन्द्रबहादुर खड्काले भन्नुभयो, क्लबले काउली, ब्रोकाउली र विभिन्न प्रकारका सागका विरुवा उत्पादन गरेर विद्यार्थीलाई वितरण गरेको थियो ।

कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने एक सय जना विद्यार्थीलाई विभिन्न हिउँदे तरकारीका बिरुवा उत्पादन गरेर वितरण गरिएको उहाँको भनाइ छ । विद्यालयको कौसीखेतीमा मात्र होइन्, विद्यार्थीले घरमा लगेर रोपेका तरकारीको समेत हेरचाह आफैं गर्दैआएको क्लबका विद्यार्थी अध्यक्ष सनिसा क्षत्रीले बताउनुभयो ।

“विदेशमा पढ्दै काम गर्दै गर्ने गरेको सुनिन्छ, यहाँ पनि व्यावहारिक शिक्षाको कुरा हुन्छ” शिक्षक खड्काले भन्नुभयो “देश सुहाउँदो, हाम्रो भुगोल सुहाउँदो व्यावसायिक कृषि प्रणालीलाई थप व्यवस्थित गर्दै विद्यार्थीलाई उत्पादनसँग जोडेर सानो उमेरमै उद्यमी बन्ने प्रेरणा प्रदान गर्नु स्थानीय उत्पादन कार्यक्रम र क्लबको उद्देश्य हो ।” क्षत्रीले भन्नुभयो, “विद्यालय र विद्यार्थीले सञ्चालन गर्दैआएको यो अभियानलाई बागलुङ नगरपालिका वडा–९ को पनि सहयोग रहेको छ ।”

विद्यालयका प्रधानाध्यापक कुमार उपाध्यायका अनुसार यहाँका विद्यार्थीले विद्यालयदेखि घरसम्म तरकारी फलाउन थालेको बताउनुभयो । विद्यालयमा उत्पादन र बिक्री वितरणका लागि फरक–फरक २ वटा थ्रि जेरो क्लब छन् । एउटा क्लबले उत्पादनको काम गर्छ भने अर्काले बिक्री वितरणको काम गर्छ ।

विद्यालयको हरेक शुक्रबार हुने अतिरित्त क्रियाकलाप र विभिन्न विषेश कार्यक्रममा विद्यार्थीले आफुले उत्पादन गरेका तरकारीका परिकार बनाउँछन् र विद्यालयमै शिक्षक र विद्यार्थीलाई बेच्छन् । बिक्री भएर आएको पैसाबाट पुनः तरकारीको बिउ, मल किन्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर थापाले बताउनुभयो ।