अस्ट्रेलिया, चैत १५ गते । अस्ट्रेलियाली श्रम सरकारले आगामी चुनाव अगाडि सङ्घीय बजेट सार्वजनिक गरेको छ । जुन लागत–जीवन राहत र आर्थिक वृद्धिमा केन्द्रित रहेको छ ।
संसदमा आफ्नो बजेट भाषणमा कोषाध्यक्ष जिम चाल्मर्सले २०२५–२६ को बजेटका पाँच प्रमुख प्राथमिकताहरू उल्लेख गर्नुभयो । जीवनयापनको लागत दबाब कम गर्ने, मेडिकेयरलाई सुदृढ पार्ने, आवास विस्तार गर्ने, शिक्षामा लगानी गर्ने र आर्थिक लचिलोपन बढाउने लगायतका विषयहरु बजेटमा जोड दिइएको छ ।
चाल्मर्सले अस्ट्रेलियालीहरूलाई सहयोग गर्ने सरकारको प्रतिबद्धतामा जोड दिनुभयो । २०२६–२७ सम्म सबै करदाताहरूका लागि नयाँ कर कटौती, २०२५ को अन्त्यसम्म थप ऊर्जा बिल राहत र विद्यार्थी ऋण र औषधी लागतमा थप कटौती गर्ने लगायतका विषयहरू समावेश छन् ।
निजी क्षेत्रको मागमा आएको सुधारले अस्ट्रेलियाको अर्थतन्त्र यस वर्ष १.५ प्रतिशतबाट बढेर २०२६–२७ सम्ममा २.५ प्रतिशतमा पुग्ने उहाँले बताउनुभयो । ट्रेजरीले ४.२५ प्रतिशतमा शिखर बेरोजगारी घटाउने, बलियो रोजगारी र ज्याला वृद्धि हुने र अपेक्षाभन्दा छिटो मुद्रास्फीति कम हुने पूर्वानुमान गरेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल