• १८ चैत २०८१, सोमबार

मल्लरानीमा तेस्राे खाना महोत्सव हुने

blog

खाना महोत्सव हुने पर्यटकीय स्थल मल्लरानी । तस्बिर : सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, चैत १५ गते । मल्लरानी पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्धनका लागि तेस्राे खाना महोत्सव हुने भएको छ । प्युठान उद्योग बाणिज्य सङ्घ मल्लरानी बजार क्षेत्रको आयोजनामा चैत ३१ गतेदेखि वैशाख २ गतेसम्म सदरमुकाम खलङ्गाको शिरमा रहेको पर्यटकीय क्षेत्र मल्लरानी डाँडामा महोत्सव हुन लागेको हो ।

महोत्सवमा स्थानीय उत्पादनका अर्गानिक खानाका परिकारहरु, नेवारी खानाका परिकारहरु, स्थानीय जातका कुखुरा, हाँस, खसिबोका, राँगा, बङ्गुर, बदेल, कालिजका विविध परिकारहरु, चाडपर्व विशेषमा बनाइने खानाका परिकारहरु, चामल, कोदो, मकै, जौ, गहुँका विविध परिकारहरु उपलब्ध हुने महोत्सव मुल समारोह समितिका संयोजक तथा बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवमा स्थानीय कला संस्कृतिको प्रदर्शनी सहित स्थानीय तथा ख्यातिप्राप्त कलाकारहरुले सांस्कृतिक तथा हास्यव्यंग्य प्रहसन प्रस्तुत गर्नेछन । महोत्सवकै अवसरमा मल्लरानी डान्स आइडल नृत्य प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

महोत्सव सञ्चालन गर्न आयोजकले विभिन्न उपसमितिहरु गठन गरेको छ । भरतकुमार श्रेष्ठको संयोजकत्वमा कार्यसम्पादन समिति, पशुपति श्रेष्ठको संयोजकत्वमा सचिवालय व्यवस्थापन समिति, इमानसिंह भारतीको संयोजकत्वमा सल्लाहकार समिति, बासुप्रसाद श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।

त्यस्तै लक्ष्मण श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, पशुपति श्रेष्ठको संयोजकत्वमा प्रचार प्रसार समिति, अनिल विकको संयोजकत्वमा मञ्च तथा साउण्ड सिष्टम व्यवस्थापन समिति, वासुप्रसाद श्रेष्ठको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, लोकेन्द्र सुनारको संयोजकत्वमा सांस्कृतिक व्यवस्थापन समिति, किरण पन्थीको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति, राजन कक्षपतिको संयोजकत्वमा खाना तथा स्टल व्यवस्थापन समिति, अरुण श्रेष्ठको संयोजकत्वमा यातायात व्यवस्थापन समिति गठन गरिएको बजार क्षेत्रका सचिव पशुपति श्रेष्ठले जानकारी दिनुभयो ।

सत्यमोहन रानाको संयोजकत्वमा झाँकी र्‍याली व्यवस्थापन समिति, दिनेश नकर्मीकोे संयोजकत्वमा खानेपानी व्यवस्थापन समिति, केशव खड्काको संयोजकत्वमा सरसफाइ व्यवस्थापन समिति, रामचन्द्र केसीको संयोजकत्वमा प्रायोजक तथा सहयोगी व्यवस्थापन समिति गठन गरिएको छ ।