• १७ चैत २०८१, आइतबार

भारतीय तरकारी आयातपछि नेपाली उत्पादनले मूल्य नपाउँदा किसान चिन्तित

blog

बर्दीबासको तरकारी हाटमा ग्राहकको प्रतिक्षामा गोलभेडा उत्पादक किसान । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दीबास, चैत १४ गते । आफ्नो उत्पादनले मूल्य नपाउँदा तरकारी किसान चिन्तित भएका छन् । यसअघि किलोको १० रुपियाँमा झरेको काउलीले किसानलाई रुवाएको थियो । अहिले गोलभेडाको रेट ५ रुपियाँमा खसेपछि किसान मर्महात छन् । 

फेरि पनि ग्राहक नआउँदा किसानलाई आफ्नो उत्पादन निल्नु न ओकल्नु भएको छ । चुरे डाँडादेखि १० कयारेट (२५० किलो) टमाटर लिएर बर्दीबास बजार आउनुभएका वडा ५ का कर्णवहादुर तामाङ ढुवानी भाडा पनि उपर नहुने भएपछि टमाटरका दाना पःयाक्ने की फेरी १५ सय खर्चेर घर लैजाने ? असमञ्जसमा परेको बताउनु भयो । 

कर्णवहादुरको अवस्था सबै तरकारी किसानको साझा समस्या हो । बर्दीबास बजारमा अहिले ३ प्रजातिका गोलभेडा देखा परेका छन् । दर भाउ पनि फरक छ । कविता प्रति क्यारेट (२५ केजी) ४००, चिउरी ३०० र इण्डो अमेरिकन गोलभेडा क्यारेटको १५० रुपियाँ अर्थात् प्रति किलो ५ देखि ६ रुपियाँमा झरेको छ । 

प्रजाती र दर भाउ फरक भए पनि विक्री नहुने पीडा भने सबैको उस्तै छ । ३० क्यारेट इण्डो अमेरिकन गोलभेडा नबिकेपछि दिक्क हुनुभएका मिथिला नपा ९ का अशोक महतोले अव ग्राहकले जति दिन्छन त्यतिमै बेच्छुभन्दा पनि नबिकेको पीडा पोख्नु भयो । 

बजार ठेकेदार महेश साहका अनुसार अहिले बर्दीबास हाटमा २५० देखि ३०० क्यारेट (६ देखि ८ हजार किलो) गोलभेडा आउँछ । उहाँले भन्नुभयो, ‘आपूर्ति बढे पनि कारोवार भने शून्य बराबर छ ।’

कृषि ज्ञान केन्द्रका अनुसार महोत्तरीको दुई हजार ६०० हेक्टर क्षेत्रफलमा वार्षिक ३९ हजार मेट्रिक टन गोलभेडा उत्पादन हुने गरको छ । यसको व्यवसायीक खेती बर्दीबासको उत्तरी भेगमा पर्ने ४, ५, १० र ११ नं वडामा हुँदै आएको छ । समय अनुसार मूल्यमा घटबढ हुने गरेपनि यतीसम्म सस्तिएको पहिलोपटक भएको टमाटर किसानहरुको अनुभव छ । 

बर्दीबास १० खयरमाराका कृषक टेकवहादुर श्रेष्ठलाई गएको दशैँतिर गोलभेडा प्रति किलो ६० रुपियाँमा बेचेको मीठो सम्झना छ । यही गोलभेडा खुद्रा व्यापारीले किलोको १०० देखि १२० रुपियाँसम्म बेचेका थिए । खेतमै गाडी लिएर पुगेका सिन्धुलीदेखि काठमाडौंसम्मका व्यापारीबिच गोलभेडा किन्न तछाडमछाड पथ्र्यो । उतिवेला प्रति क्यारेट (२५ केजी) एक हजार ५०० रुपियामा किनेर लगेको उहाँले स्मरण गर्नुभयो ।  

गएको पुस, माघसम्म पनि प्रति क्यारेट हजारदेखि ११ सय रुपियाँसम्म बिकेको गोलभेडाको मूल्य किन ५ रुपियाँमा झ¥यो ? स्पष्ट छैन । स्थानीय कृषकका अनुसार अहिले बाहिरका व्यापारी आउन छाडेकाले निकासी प्रभावित हुदा मूल्य झरेको हो । 

कृषि ज्ञान केन्द्रका बाली विकाश अधिकृत मनिष पालको भनाइमा स्थानीय उत्पादनको मूल्य झार्ने अर्को प्रमुख कारणमा नेपाली बजारमा भारतीय तरकारीको अतिक्रमण पनि हो । यसको पुष्टी प्लान्ट क्वारेन्टाइनले पनि गरेको छ । स्वदेशी उत्पादन फालाफाल भएको बेला चालु आवको साउनदेखि पुस महिनासम्म क्वारेन्टाइन मूल्याङ्कन अनुसार ८६ लाख ४ हजार ५५२ मूल्य वरावरका ३ लाख ५८ हजार किलो भारतीय गोलभेडा आयात भएको थियो । 

क्वारेन्टाइन प्रमुख किशोर यादवका अनुसार सोही अवधिमा २ करोड ४८ लाख ५४ हजार मूल्यको १० लाख ३५ हजार ६०० किलो भारतीय काउली भित्रिएका थिए । यो भन्दा बढी तरकारी खुला सीमाबाट भित्रिने गरको स्थानीयको भनाइ छ । 

बर्दीबास १२ का किसान रामउद्गार दासले विदेशी तरकारी नरोकेसम्म नेपाली उत्पादनले मूल्य पाउने सम्भावना नरहेको पीडा पोख्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘नेताले चासो दिँदैनन्, कर्मचारीले सुन्दैनन् अनि वोर्डरमा कसले रोक्ने र हाम्रो तरकारी बिक्ने ?’