विजयकुमार साह
ढल्केबर, चैत १४ गते । धनुषामा चैते धानको उत्पादन क्षेत्र बर्सेनि बढ्दै गएको छ । चैते धान उत्पादनप्रति किसानको रुचि बढेपछि जिल्लामा चैते धानको उत्पादन क्षेत्रफल बढ्दै गएको हो । वर्षे धानभन्दा धेरै फल्ने, तुलनात्मकरूपमा रोग तथा किरा कम लाग्ने र सिँचाइको उपयुक्त व्यवस्था भएकाले यस बालीतर्फ किसानको रुचि बढेसँगै क्षेत्रफलमा वृद्धि भइरहेको स्थानीय किसानको भनाइ छ ।
धनुषाको धनुषाधाम नगरपालिका–६, हरिपुरका किसान मुनजी यादवले यतिबेला यहाँका किसान चैते धान रोप्न व्यस्त रहेको बताउनुभयो । गहुँबाली भित्र्याएर खाली भएको खेत तयार पारेर यहाँका किसान चैते धान रोपाइँ गरिरहेको बताउँदै उहाँले तीन चार वर्षअघिको तुलनामा यो बाली लगाउने किसानको सङ्ख्या निकै बढेको जानकारी दिनुभयो । यहाँ कति बिघामा यो धान रोपिएको बारे
उहाँले भन्नुभयो, “तीन/चार वर्ष अघिसम्म यहाँका थोरै किसानले मात्र यो बाली लगाउने गरेका थिए । अहिले चैते धान रोप्ने किसानको सङ्ख्यासँगै क्षेत्रफल पनि बढेको छ । यहाँ कति बिघा खेतमा यो धान रोपिएको बारे भन्न सकिँदैन तर यहाँका अधिकांश खेतमा चैते धान लगाइएको हुन्छ ।”
उहाँका अनुसार सिँचाइ गर्न किसान आफ्नै लगानीमा स्यालो ट्युवबेल गाडेका छन् । मलखाद सहज उपलब्ध, सहुलियत दरमा धानको बिउ र सिँचाइ गर्न सरकारको सहयोग प्राप्त भयो भने चैते धान उत्पादनको क्षेत्रफल अझै बढ्छ । धनुषाधाम नगरपालिका–६, का वडाध्यक्ष ऋषि लामाले अघिल्ला वर्षको तुलनामा यसपाली बढी क्षेत्रफलमा चैते धान रोपिएको बताउनुभयो ।
यस्तै, चैते धान उत्पादनका लागि उर्वरभूमि मानिएको जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसीमा समेत यसपाली दोब्बर क्षेत्रफलमा चैते धान समयमै रोपिएको छ । रातु नदीबाट कुलोमार्फत यहाँका किसानले चैते धान समयमै रोपी सिध्याएको स्थानीय किसान प्रेमबहादुर कार्कीले बताउनुभयो । सिँचाइको प्रयाप्त सुविधा नभएपनि बाह्रौँ महिना पानी बगिरहने रातु नदीबाट कुलोमार्फत चुरे, बाहुनमारा, बिस्मवरमा चैते धान रोपिएको उहाँले जानकारी दिनुभयो ।
मिथिला नगरपालिकाका कृषि शाखा प्रमुख सञ्जयकुमार महताले चैते धान खेतीमा वृद्धि ल्याउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातकोे बिउ उपलब्ध गराएको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवले पछिल्लो केही वर्षयता जिल्लामा चैते धान खेती विस्तार भइरहेको बताउनुभयो । जिल्ला विशेष गरी मिथिला, धनुषाधाम, छिरेश्वरनाथ, सबैलालगायत पालिका चैते धान खेतीका लागि उपयुक्त स्थान रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘कतिपय स्थानमा चैते धान रोपाइँ भइरहेको र रोप्ने समय अझै बाँकी रहेकोले जिल्लामा कति हेक्टरमा यो धान रोपियो भनेर आधारिकतरूपमा ठ्याक्कै भन्न सकिँदै तर पाँच हजारभन्दा बढी हेक्टर खेतमा चैते धान उत्पादन हुने अनुमान गरिएको छ ।’’
उहाँका अनुसार वर्षे धानभन्दा धेरै फल्ने भएकाले किसानको रूची यस बालीतर्फ बढ्दै गएको छ । वर्षे धानको तुलनामा रोग र किरा कम लाग्ने भएकाले पनि किसानले यो बालीलाई प्राथमिकता दिन थालेको छ । जिल्लाका सबै ठाउँमा सिँचाइको व्यवस्था गर्न सकियो भने चैते धान खेती धेरै बढ्ने केन्द्रका प्रमुख यादवले बताउनुभयो ।