• २६ चैत २०८१, मङ्गलबार

कृषि क्षेत्रको प्रगति समीक्षा उपब्धिमूलक छैनः कृषि मन्त्री श्रेष्ठ

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठ।

स्मिता अर्जेल

मकवानपुरगढी, चैत १३ गते। बागमती प्रदेशका कृषिमन्त्री प्रकाश श्रेष्ठले कृषि क्षेत्रको समग्र विकास उपलब्धिमूलक नरहेको बताउनुभएको छ । 

बुधबार कृषि विकास निर्देशनालय हेटौंडामा आयोजित अर्धवार्षिक समीक्षा गोष्ठी कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। 

उहाँले भन्नुभयो “बागमती प्रदेश सरकारले कृषि क्षेत्रको विकास व्यवसायिक प्रर्वद्धनका साथै रोजगार सँग जोडिएर उत्पादनलाई वृद्धि गर्ने र निर्यातलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्ने अपेक्षा सन्तोषजनक देखिएको छैन।”

सूचना प्रकाशित भएका र सम्झौता भएर कार्यान्वयन गर्न बाँकी कार्यक्रमलाई योजनाबद्ध ढंगले सम्पादन गर्नुुपर्ने देखिएको उहाँले बताउनुभयो। चालू आर्थिक वर्षको अन्त्यसम्ममा कार्यसम्पादनलाई प्रभावकारी ढंगले अगाडि बढाउन समेत उहाँले  सरोकार पक्षलाई निर्देशन दिनुभएको छ ।

“आगामी आर्थिक वर्षदेखि बजेट कार्यान्वयनदेखि लिएर लक्षित वर्गसम्म कृषि मन्त्रालयको सेवालाई प्रवाहलाई व्यवस्थापन गर्नेछौं। पूँजीगत खर्चको सीमा बढाउँदै, चालू बजेटलाई व्यवस्थित रुपमा खर्च गर्ने संरचनामा असमानता आएको देखिएको छ”, उहाँले भन्नुभयो। 

आगामी आर्थिक वर्षमा प्रदेशमा थप चार वटा कृषि कार्यालय र दुई वटा पशु सेवा कार्यालयको संरचना थप्ने योजना रहेको उहाँले बताउनुभयो। 

मन्त्रालयले बजेट विनियोजन गरे अनुरुपको नतिजा सन्तोषजनक नआएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “किसान वर्गीकरण, किसानलाई परिचयपत्र वितरण र उत्पादनमा आधारित कृषि अनुदानको व्यवस्था गर्नुपर्ने नीति चाँडै ल्याउन आवश्यक छ।” 

कृषि विकास निर्देशनालयको अर्धवार्षिक प्रगति प्रतिशत 

बागमती प्रदेश सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तरगतको कृषि विकास निर्देशनालयको आर्थिक वर्ष २०८१/०८२ को अर्धवार्षिक समीक्षा गोष्ठी निर्देशनालयका निर्देशक सुधीर श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ। 

कार्यालयको वित्तीय प्रगति १५ दशमलव ५ प्रतिशत मात्र रहेको छ। आर्थिक वर्षमा चालू र पूँजीगत तर्फ १८५ दशमलब ५ प्रतिशत खर्च भएको छ। 

कार्यालयले यो अवधिमा कृषि ज्ञानरत्न प्रवद्र्धन कार्यक्रम, कृषि क्षेत्रमा नवप्रपर्वतन कार्यक्रम, समुदायमा आधारित एक वडा एक कृषि उत्पादन कार्यक्रम, विद्युतीय प्रणालीमा आधारित लिफट सिँचाइ सहयोग कार्यक्रम, कलमी चिउरी बगैँचा स्थापना कार्यक्रम, एक प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र एक प्राङ्गारिक मल कारखाना स्थापना कार्यक्रम लगायतका कार्यक्रम आयोजना गरेको छ।

समीक्षा गोष्ठि कार्यक्रममा निर्देशनालय मातहतका पशुपन्छी तथा मत्स्य विकास निर्देशनाल, कृषि तालिम केन्द्र भण्डारा, प्रदेश दुग्ध विकास बोर्ड, प्रदेश बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र कार्यालयले प्रस्तुतिकरण राखेका थिए।