पर्वत, असार ८ गते । जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर वर्षौँदेखि झाडीमा परिणत भएको खेतबारी जोतेर जापानी कटुसको नामले परिचित (मेकाडेमिया नट) खेती विस्तार गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित पुवाडाँडामा रहेको एक सय ४० रोपनी क्षेत्रमा मेकाडेमिया नटखेती सुरु गरिएको हो ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, प्रादेशिक आयोजना कार्यान्वयन एकाइ पोखराको सहयोगमा पर्वतमा पहिलोपटक मेकाडेमिया नटखेती सुरु गरिएको छ । उन्नत कृषि कृषक समूहका अध्यक्ष टीकराम उपाध्यायका अनुसार समूहमा आबद्ध २५ भन्दा बढी सदस्यको बाँझो जग्गा उपयोग गरेर खेती विस्तार गरिएको छ । यस वर्ष मेकाडेनिया नटका एक हजार बिरुवा रोप्ने योजना छ ।
आयोजनाको ५० प्रतिशत अनुदानसहित झण्डै रु ४६ लाख लगानी गरेर खेती विस्तार गरिएको हो । यसका लागि पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाले रु २३ लाख सहयोग गर्ने भएको छ । झाडी फडानी, सिँचाइ पोखरी निर्माण, मल तथा बिरुवा खरिद, बिरुवा रोपणलगायत कार्य गर्न उक्त रकम खर्च भएको छ ।
यस वर्ष लगाइएको मेकाडेनिया नटले चार वर्षदेखि फल दिन सुरु गर्नेछ । दुई वर्षमै सामान्य रूपमा फल लाग्न सुरु हुने भए पनि चार वर्षदेखि पूर्ण मात्रामा आम्दानी लिन सकिने गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार थोरै ठाउँबाट बढी आम्दानी, रोग तथा जङ्गली जनावरबाट कम नोक्सानी हुने फलफूलको खोजीमा रहेका किसानका लागि मेकाडामिया नट बढी उपयोगी हुने देखिएको छ ।
समुद्री सतहदेखि एक हजार ६०० मिटरसम्मको सुक्खा क्षेत्रमा यसको उत्पादन राम्रो हुने भएकाले अहिले ठुलीपोखरीमा विस्तार गरिएको खेतीबाट प्रशस्त फाइदा लिन सकिने सचिव रेग्मीले बताउनुभयो । मेकाडेमिया नटलाई बदामजस्तै काँचै फुटाएर खान सकिने र यसबाट खानेतेल, चकलेट, बिस्कुट, आइसक्रिमलगायतमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ । यसको बिरुवा जेठ र असारमा रोप्दा राम्रो हुने उहाँले बताउनुभयो ।
मेकाडेमिया नटको एउटा बोटमा प्रतिवर्ष ५० देखि ७० किलोसम्म फल लाग्ने उहाँले बताउनुभयो । बाँदरले खान नसक्ने भएकाले बढी बाँदर लाग्ने ठाउँमा यसको खेती गर्नुपर्ने उहाँको भनाइ छ । बढ्दो बाँदर आतङ्कले खेतबारी बाँझै रहने क्रम बर्सेनि बढेका बेला फलफूलखेती विस्तार गरे किसानको आम्दानी बढाउन सकिने सचिव रेग्मीले बताउनुभयो ।
पर्वतमा पहिलोपटक विस्तार गर्न थालिएको मेकाडेमिया नटखेतीको गण्डकी प्रदेशको कृषि, भूमि तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले शनिबार वृक्षरोपण गरेर शुभारम्भ गर्नुभयो । सो अवसरमा मन्त्री श्रेष्ठले बाँझो जमिन सदुपयोग गरेर प्रशस्त आम्दानी लिन सकिने भएकाले यसको खेती विस्तारका लागि आयोजना सञ्चालन गरिएको बताउनुभयो । बढ्दो युवा पलायन, बाँदर आतङ्क, जनशक्तिको अभाव भएकाले एकपटक मेहनत र लगानी गरेर वर्षौँसम्म फाइदा हुने खालको खेतीबाली लगाउनतर्फ किसानलाई आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, प्रदेशसभा सदस्य भक्त कुँवरलगायतले जिल्लाका अन्य क्षेत्रमा पनि मेकाडेमिया नटखेतीसँगै भौगोलिक आधारमा उत्पादनको सम्भावना भएका फलफूल विस्तारमा जोड दिइने बताउनुभयो । यसअघि गत वर्षदेखि महाशिला गाउँपालिकाले पनि सात सय बिरुवा मेकाडेमिया नट फलका बिरुवा लगाएर व्यावसायिक रूपमा खेती सुरु गरेको थियो । रासस