हिले समाचारदाता
हिले, चैत १० गते । खोलाको बगर, एकान्त, फाँट क्षेत्र, पानीको ठुलो मूल, मूलबाट बगेको पानी र जमेका पोखरी, पोखरीमा पौडी खेल्नेको भिडभाड । यो पाख्रीबास नगरपालिका–८ र १० को सीमा क्षेत्रमा रहेको भुल्केमा पछिल्लो समय देखिएको रौनक हो ।
केही वर्षअघिसम्म गुमनाम यो स्थान अहिले भने स्थानीय तथा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । ठुलो मूलबाट पानी निस्किएर बनेको पोखरीमा धनकुटासहित विभिन्न स्थानबाट पौडी खेल्न तथा वनभोज गरेर रमाउने मानिस पुग्ने गरेका छन् । पाख्रीबास तथा हिलेबाट उत्तरपानी हुँदै भुल्केसम्म पुग्ने कच्ची सडक निर्माण भएपछि सो स्थानमा आन्तरिक पर्यटकको चाप बढ्न थालेको हो ।
पाख्रीबास नगरपालिकाले प्रदेश सरकारको सहयोगमा सो क्षेत्रमा थप पूर्वाधारसमेत निर्माण गरेको छ । करिब एक करोड रुपियाँ लागतमा पैदलमार्ग, शिवमन्दिर, १० वटा धारा, शौचालयलगायत निर्माण गरिएको छ । कच्ची सडक निर्माणपछि यो सुन्दर स्थानले आकर्षक गरेको विराटनगरबाट घुम्न आएका सञ्जयबाबु शर्मा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यहाँ शान्त छ, सुन्दर, स्वच्छ पानी, पोखरी, धारा आदिले बेग्लै आनन्द दिन्छ । त्यसैले यहाँ आइरहन मन लाग्छ ।”
स्थानीय मणि राई पनि धेरै जसो समय भुल्के पुगिरहनुहुन्छ । बाहिरबाट घुम्न आएका साथीभाइलाई उहाँले सो स्थानमा लिएर जाने गर्नुभएको छ । यो स्थान अन्य स्थानभन्दा फरक भएकाले यहाँ साथीभाइ लिएर रमाइलो गर्न जाने गरेको राई बताउनुहुन्छ ।
भुल्केको पानीले पर्यटक आकर्षित मात्र गरेको छैन । बर्सौंअघिदेखि सो क्षेत्रका स्थानीयका लागि वरदान साबित हँुदै आएको छ । त्यहाँबाट निस्किएको पानी मुगाखोला हुँदै अरुण नदीसम्म पुगेर मिसिन्छ तर त्यो बिचमा हजारौँ हेक्टर क्षेत्रफल खेतलाई सिञ्चित गर्छ । जसका कारण कृषकले दुई बाली धान तथा अन्य फसल उत्पादन गर्दै आएका छन् ।
पछिल्लो समय भुल्केको पानी पाख्रीबास बजारमा खानेपानीका रूपमा वितरण गर्ने योजना बनेपछि भुल्केवासी चिन्तित छन् । भुल्केको पानी पाख्रीबास लगे यस क्षेत्रको कृषियोग्य जमिन बाँझिनुका साथै भर्खरै फस्टाउँदै गरेको पर्यटन क्षेत्र गुम्न सक्ने स्थानीय विजय राई बताउनुहुन्छ । राई भन्नुहुन्छ, “यो हाम्रो जीवन हो, हाम्रो सबै कुराको आधार हो । यो पानी पाख्रीबास लगे यहाँको सबै कुरा गुम्छ, हाम्रो रोजीरोटी खोसिन्छ । धेरैको गाँस काटिन्छ । त्यसैले यो निर्णय पुनर्विचार गर्नु पर्छ ।”
पानी विवादका कारण रोजीरोटीसँगै भर्खर बस्दै गरेको पर्यटनको आधारै मासिने अर्का स्थानीय कृष्णकुमारी राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यस क्षेत्रमा पानीकै कारण भर्खरै मात्रै पर्यटकको पाइला पर्न थालेको छ । पानी नै तानेपछि पर्यटक के गर्न आउँछन् ? यसैले पानीको विकल्प खोजिनु पर्छ ।” सो क्षेत्रको पानीले ३६५ घरपरिवारको जीविकोपार्जन हुँदै आएको छ ।
भुल्केको पानी नगरपालिकाले लगे पाख्रीबास नगरपालिका–८ र १० का सुनबालुवा, कात्तिके, काभ्रे, चुङमाङ, मालबासे र सहिदभूमि गाउँपालिकाको खोकुटारको करिब दुई हजार पाँच सय रोपनी खेतीमा हुने दुई बाली धान, एक बाली गहँु उत्पादन बन्द हुने स्थानीयको भनाइ छ । त्यस्तै पर्यटकीय चहलपहलले स्थानीयमा थप आर्थिक उपार्जनको पाटो थपिएको स्थानीयको बुझाइ छ ।