• १५ चैत २०८१, शुक्रबार

छिमेक सम्बन्धको आयाम

blog

विश्वका कतिपय मुलुकबिचको सम्बन्ध असाध्य अनौठा हुन्छन् । सामान्यतया इतिहास, भूगोल, संस्कृति, पारस्परिक चासो, व्यापारिक कारोबार, विश्व जगत्का मूलभूत आयामलाई हेर्ने समान दृष्टिकोण आदिले आधुनिक राज्यका कूटनीतिक र पारस्परिक सम्बन्धलाई निर्देशित गरिरहेको हुन्छ । कूटनीतिक दर्शनका यी सामान्य मूल्य, मान्यता र आदर्शभन्दा पनि माथि उठेर कतिपय देशका सम्बन्ध युगौँदेखि अगाडि बढेका छन् । अझ छिमेक सम्बन्धलाई धार्मिक, सांस्कृतिक, जनस्तरका सामाजिक अन्तरसम्बन्ध आदिले घनिष्टताका आयामलाई फराकिलो बनाउँदै लगेको हुन्छ । नेपाल र भारत सम्बन्धको आयामलाई यी तमाम दर्शनभन्दा अझ उचाइका दृष्टिकोणले गहनता दिन सकिन्छ । दुवै देशका जनताबिचको युगौँदेखिको अटुट सम्बन्धले अनेक विशेषता आत्मसात् गर्दै नयाँ युगतर्फ अग्रसर गराएको छ । विश्व समाज आधुनिक सरसुविधासहितको तीव्रतर विकासमा पुग्दा दक्षिण एसियाको यो ऐतिहासिक सभ्यता अझै चाहे जति समृद्ध हुन सकिरहेको छैन । यसमा कतिपय कमजोरीको विगत पनि हुन सक्ला जसले चाहे जसरी अगाडि बढ्न असहज बनाएको हुन सक्छ । फलस्वरूप भौतिक विकासको सकससँगै अझै पनि दुवै देशका ठुलो जनतप्का गरिबीमा जीवन बिताइरहनु परेको छ । दुवै देशसित भएको अपार साधन र स्रोतको प्रभावकारी उपयोग हुन नसक्दा आधुनिक विकासका आयतनलाई फराकिलो बनाउन सकिएको छैन । धरातलीय यथार्थको यी परिवेशमा नेपाल–भारत सम्बन्धलाई नयाँ युगमा अझ फराकिलो आयाम दिनुपर्ने दायित्व दुवै देशका नेतृत्वसामु गहन जिम्मेवारी छ ।

नेपाल–भारत सम्बन्धलाई नयाँ दूरदृष्टिसहित फराकिलो बनाउने प्रयास निरन्तर छ । यसै सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा र भारतीय समकक्षी डा. एस जयशङ्करबिच हालै नयाँ दिल्लीमा भएको भेटवार्ता सम्बन्धका आयामलाई फराकिलो बनाउन सहयोगी भएको छ । सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देशका नेतृत्वको सहमति कूटनीतिक दृष्टिकोणले महत्वपूर्ण छ ।  यो भेटवार्तामा दुई छिमेकी मुलुकको घनिष्टतायुक्त लामो यात्रालाई नयाँ आयाम दिएर अगाडि बढाउन आवश्यकताबोध गरिएको छ । यो महत्वपूर्ण अवसर भारतले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डाइलगले जुराएको हो । राइसिना डाइलग–२०२५ भारतले आयोजना गरेको महत्वपूर्ण विश्वमञ्च देखिएको छ । यसले दक्षिण एसियाका साथै एसिया तथा प्रशान्त क्षेत्रको महत्वपूर्ण विषयलाई गहन विचारविमर्श गरी त्यसको समाधानको सूत्रीकरण गर्ने प्रयास गरेको छ । शान्ति, जलवायु परिवर्तन, नयाँ युगको सम्बन्ध, पृथ्वीले भोग्नु परेका अनेक चुनौती र विश्व सम्बन्ध आदिमा फराकिलो विश्व अवधारणालाई परिष्कृत गर्ने यो मञ्चमा परराष्ट्रमन्त्री डा. आरजु राणाको सहभागिता नेपालको सक्रिय सहभागिता हो । राइसिना डाइलगको साइड लाइन बैठकका क्रममा दुवै देशको विदेशमन्त्रीबिच दुईपक्षीय सम्बन्धको गहन चिन्तनले आगामी दिनमा पारस्परिक हितका अनेक आयाम खुल्न सक्ने छन् ।

अहिले जलवायु परिवर्तनका जोखिमले विश्वलाई हरित ऊर्जातर्फ अग्रसर गराउन बाध्य पारेको छ । अब जैविक इन्धनको बलमा मात्र आधुनिक विकास सम्भव छैन । नेपालले आगामी १० वर्षमा १० हजार मेगावाट जलविद्युत् भारत निर्यात गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । दुवै देशबिच १० हजार मेगावाट विद्युत् खरिद सम्झौतासमेत सम्पन्न भइसकेको छ । नेपालले भारतीय मार्ग हुँदै बङ्गलादेशमा समेत विद्युत् निर्यातको थालनी गरिसकेको छ । जलविद्युत् स्वच्छ र हरित ऊर्जाको भरपर्दो स्रोत हो । नेपालका  हिमाली उद्गम नदीबाट स्वच्छ जलशक्ति उत्पादनको प्रचुर सम्भावना छ । आन्तरिक उच्चतम खपतसँगै भारतलगायतका मुलुकमा निर्यातको व्यापक सम्भावना पनि छ । दशकौँ पहिल्यै सम्पादन हुनुपर्ने यस पवित्र कर्मलाई दुवै देशका दूरदर्शी राजनेताले अहिले अग्रता दिइरहेको परिवेशमा नेपाल र भारतबिचको सम्बन्धले नयाँ आर्थिक आयामको ढोका खोलेको छ । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका हैसियतले नेपालसामु गहन जिम्मेवारी छ । एक दशकदेखि सार्क नयाँ संस्करणको शिखर सम्मेलन आयोजना हुन नसक्दा क्षेत्रीय सहयोगका कतिपय आयाममा अवरुद्ध छन् । कूटनीतिक क्रियाशीलताबाट सार्कलाई लयमा ल्याउनु छ । नेपाल र भारत दुवै देशको पारस्परिक हितसँगै साझा चासोका यस्ता अनेक विषयमा मिलेर काम गर्नुपर्ने जिम्मेवारी छ । परराष्ट्रमन्त्री डा. राणाले भन्नुभए झैँ साझा हितका लागि भारतसँग सहकार्य गर्न नेपाल सदैव इच्छुक छ । दुवै देशका सबै नागरिकको आर्थिक तथा सामाजिक विकासका निम्ति ऊर्जा, पर्यटन, कृषिलगायतका क्षेत्रमा समेत मिलेर काम गर्दा नै समृद्धि सपना पूरा हुने छ । बलियो छिमेक सम्बन्धले दुवै देशको पारस्परिक हितलाई फराकिलो बनाउने सुनिश्चित छ ।