बाबुराम कार्की
वराहक्षेत्र, फागुन २० गते । माझी समुदायले सप्तकोसी नदीमा सामूहिक रूपमा लदी पूजा मनाएका छन्। सीमान्तकृत माझी समुदायले प्रत्येक वर्ष फागुनको तेस्रो मङ्गलबार मनाउने लदी अर्थात् पानीको पूजा सप्तकोसी नदीमा भेला भएका माझी समुदायले सामुहिक रूपमा मनाएका छन् ।
माझीहरूले जलदेवी, सेतीदेवीको आराधना गरी कोशी नदीमा राँगा, सुँगुर, पाठी, कुखुरा, परेवाको पञ्चवली दिने परम्परा अनुसारै सप्तकोसी नदीको शिशौली घाट किनारमा ढुङ्गाको देउता, बास, सिमली गाडेर डुङ्गा, माछा मार्ने जाल, फुरुंगोलाई पूजा गरेका छन् ।
सुनसरीको वराहक्षेत्र ७ र २ को सीमानामा रहेको सप्तकोसी नदीको शिशौली घाटमा भेला भएका माझीहरूले लदीमा पञ्चवली दिएर सामुहिक रूपमा कोसीको पूजा गरेको नेपाल माझी उत्थान सङ्घ सुनसरीका जिल्ला अध्यक्ष घनश्याम माझीले बताउनुभयो । उहाँका अनुसार माझी समुदायको पुस्तौँदेखिको गर्दै आएको पेसा डुङ्गा तार्दा, माछा मार्दा कुनै किसिमको बाधा र मानवीय क्षति नहोस् भन्ने कामना गर्दै कोसी नदीमा पूजा गर्ने चलन रही आएको छ ।
सुनसरी जिल्ला भरिका माझीहरू जम्मा भएर हर्षाेल्लासका साथ सप्तकोसी नदीमा विधिपूर्वक विशेष पूजा गरेर लदी (नदी) पर्व मनाएका छन् ।
प्रत्येक वर्ष फागुनको तेस्रो मङ्गलबार मनाउँदै आएको लदी अर्थात् पानीको पूजा माझी समुदायले मुख्य चाडको रुपमा मनाउँदै आएका छन् । माझीहरुको जीवन नदीजन्य उत्पादनसँग जोडिएकाले लदी पूजा समुदायको लागि महत्त्वपूर्ण रहेको माझी उत्थान सङ्घ वराहक्षेत्र नगर कार्यसमितिका कोषध्यक्ष गंगा माझीले बताउनुभयो ।
लदी अर्थात् कोशी पूजाको अघिल्लो दिनै आफ्नो घर आगन लिपपोत गरी सफा गरिन्छ । बिहानै घर परिवारका सबै सदस्यले नुहाउने र नयाँ कपडा लगाएर कोसी पूजामा सामेल भई सामुहिक पूजा गरेका छन् । पूजापश्चात सामुहिक नाचगान गर्नुका साथै नदी किनारमै बनाइएका मिठा परिकार खाँदै एक अर्कामा शुभकामना आदान प्रदान गरी पर्व मनाइएको छ ।
नदी, खोलामा आश्रित रहँदै आएका माझी समुदायले आफ्नो प्राचीन तथा पुर्ख्याैली पेसाको पहिचान र संरक्षण गर्न सप्तकोसी नदीमा प्रत्येक वर्ष लदी पूजा गर्दे आएको नेपाल माझी उत्थान सङ्घ वराहक्षेत्र नगर कार्यसमिति अध्यक्ष गुमानसिंह माझीले बताउनुभयो ।
सप्तकोसी नदीमा सुनसरी, उदयपुर, मोरङ, झापा, लगायतका जिल्लाबाट लदी पूजा गर्न माझी समुदायहरू सप्तकोसी नदीमा भेला भएर सामुहिक रूपमा लदी पर्व मनाएका छन् । माझी समुदायको सघन बसोवास नेपालको मध्य पहाडी, भित्री मधेश र तराईका जिल्लाहरूको नदी, खोला क्षेत्रको आसपासमा रहेको छ ।
परम्परादेखि नदी, खोलामा आश्रित माझी समुदायको पुर्ख्याैली पेसा माछा मार्ने र डुङ्गा चलाउने रहे पनि पछिल्लो समय माझीहरु समय कृषि पेसालाई मुख्य पेसाको रूपमा अङ्गालेका छन् । आफ्नो पुर्खाले मन्दै आएको लदी पर्वलाई संरक्षण र सम्वर्धन गरी भावी पुस्तालाई संस्कार हस्तान्तरण गर्न कोशी पूजा गर्दै आएको जिल्ला अध्यक्ष माझीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “कोशी नदीको पूजा गरेपछि पौडी खेल्दा बगाउँदैन, धन, जनको क्षति हुँदैन भन्ने जनविश्वास रहेको छ।” विकासको क्रमसँगै माझीहरुको पेसा सङ्कटमा परेपछि पेसा परिवर्तन गर्न थालेका उनीहरू कृषि पेसालाई मुख्य पेसा बनाउँदै आएका छन् ।
प्रत्येक वर्षको फागुन महिनाको तेस्रो मङ्गलबार पर्ने लदी पूजाका अवसरमा माझी समुदायको सघन बसोवास रहेको क्षेत्रमा स्थानीय सरकारले बिदा दिँदै आएको छ । माझी समुदायको लदी पर्वको अवसरमा वराहक्षेत्र नगरपालिका र रामधुनी नगरपलिकाले एक दिन स्थानीय बिदा दिएका छन् ।