• २० फागुन २०८१, मङ्गलबार

केसी दम्पतीद्वारा ३५ लाख बराबरको जग्गा दान

blog

जग्गा दान गर्नुभएका केसी दम्पतीलाई सम्मान गरिँदै ।

सलिम मियां

बिजुवार, फागुन २० गते । नौबहिनी गाउँपालिका वडा ६, बाहानेका व्यवसायी शङ्कर केसी र  शकुन्तला केसीले ३५ लाख मूल्य बराबरको व्यावसायिक जग्गा उद्योग वाणिज्य सङ्घ, बाहाने बजार क्षेत्रलाई निःशुल्क दान गर्नुभएको छ । केसी परिवारले २०४८ सालमा जग्गामा व्यवसाय सुरु गर्नुभएको थियो । 

सोमबार आयोजित १७ औं वार्षिक साधारणसभा र सातौं अधिवेशनको अवसरमा केसी परिवारले जग्गाधनी प्रमाणपत्र र ५० हजार नगद हस्तान्तरण गरेको उद्योग वाणिज्य सङ्घ, बाहाने बजार क्षेत्रका उपाध्यक्ष महेश थापाले जानकारी दिनुभयो । २०४६ सालसम्म सरकारी सेवामा कार्यरत रहेका केसीले आन्दोलनका कारण जागिर छोडेर व्यवसाय थाल्नुभएको थियो ।

नौबहिनी बजार क्षेत्रका पूर्व अध्यक्ष रहेका केसीले भन्नुभयो, “यो जग्गामा मैले आफ्नो व्यावसायिक यात्रा सुरु गरेँ । सङ्घसँग मेरो गहिरो सम्बन्ध छ । यही कारणले दीर्घकालसम्म सम्झनाका लागि जग्गा दान गरेको हुँ ।“ जग्गा हस्तान्तरणपछि, नौबहिनी गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले सोही जग्गामा सचिवालय भवनको शिलान्यास गर्नुभएको छ ।