भवानी ऐर
गोदावरी (कैलाली), फागुन १९ गते । पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान अन्तर्गत मधेश प्रदेशमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कैलालीको टीकापुर आउँदै हुनुहुन्छ ।
माओवादी केन्द्र निकट थारू राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन उद्घाटन गर्न भोलि (मङ्गलबार) प्रचण्डसहित माओवादी पदाधिकारी टिम टीकापुर आउन लागेको हो ।
भोलि मध्याह्न १२ बजे सम्मेलनको उद्घाटन गर्ने तय भएको थारू राष्ट्रिय मुक्ति मोर्चा कैलालीका अध्यक्ष तिलक चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा कञ्चनपुरदेखि झापासम्म तराइका २४ जिल्लाबाट करिब साढे सात सय जना प्रतिनिधि सहभागी हुनेछन् ।
उद्घाटन समारोहमा विभिन्न जिल्लाका थारू, राना थारू तथा कठरिया थारू समुदायको गीत, नृत्यलगायत कला, संस्कृति प्रस्तुत गरिने मोर्चाले जनाएको छ । सम्मेलनको उद्घाटन समारोहमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल लगायतका पार्टी पदाधिकारी तथा नेताहरू सहभागी हुने जनाएको छ ।