• २० फागुन २०८१, मङ्गलबार

एकताको महाकुम्भ

नयाँ युगको बिहानी

blog

पवित्र सहर प्रयागराजमा महाकुम्भ सफलतापूर्वक सम्पन्न भएको छ । यो एकताको भव्य महायज्ञ थियो । जब कुनै राष्ट्रको सचेतना जागृत हुन्छ, जब त्यो शताब्दीऔँ पुरानो अधीनताको मानसिकताको बन्धनबाट मुक्त हुन्छ, तब त्यसले नयाँ ऊर्जाको ताजा हावामा स्वतन्त्र रूपमा सास फेर्छ । यसको परिणाम २०८१ पुस २९ गतेदेखि प्रयागराजमा भएको एकताको महाकुम्भमा देखियो ।

अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठाका क्रममा २०८० माघ ८ गते, मैले देवभक्ति र देशभक्ति– दिव्यशक्ति र राष्ट्रप्रतिको समर्पणको बारेमा कुरा गरेँ । प्रयागराजमा भएको महाकुम्भमा देव तथा देवी, सन्त, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक र जीवनका सबै क्षेत्रका मानिस एकसाथ भेला भएका थिए । हामीले राष्ट्रको जागृत चेतना देख्ने मौका पायौँ । यो एकताको महाकुम्भ थियो, जहाँ यस पवित्र अवसरका लागि १४० करोड भारतीयको भावना एकै ठाउँमा र एकै समयमा सम्मिलित भएको थियो ।

प्रयागराजको यस पवित्र क्षेत्रमा एकता, सद्भाव र प्रेमको पवित्र भूमि शृङ्गवेरपुर छ जहाँ प्रभु श्रीराम र निषादराजको भेट भएको थियो । उहाँहरूको भेट भक्ति र सद्भावको सङ्गमको प्रतीकको रूपमा मानिएको छ । प्रयागराजले आज पनि हामीलाई उही भावनाले प्रेरित गर्छ ।

यी ४५ दिनमा मैले देशका कुना कुनाबाट करोडौँ मानिस सङ्गममा आउँदै गरेको देखेँ । सङ्गममा भावनाहरूको लहर उठिरह्यो । प्रत्येक भक्त एउटै उद्देश्यका साथ आएका थिए – सङ्गममा डुबुल्की मार्न । गङ्गा, यमुना र सरस्वतीको पवित्र सङ्गमले प्रत्येक तीर्थयात्रीलाई उत्साह, ऊर्जा र आत्मविश्वासले भरिदियो ।

प्रयागराजमा आयोजना भएको यो महाकुम्भ आधुनिक व्यवस्थापन पेसेवरहरू, योजना र नीति विज्ञहरूका लागि अध्ययनको विषय हो । संसारमा कतै पनि यस स्तरको समानान्तर वा उदाहरण छैन ।

प्रयागराजस्थित नदीहरूको सङ्गमस्थलको तटमा करोडौँ मानिस कसरी भेला भए भनेर संसारले आश्चर्यचकित भएर हे¥यो । यी मानिसलाई कहिले जाने भन्ने बारेमा न कुनै औपचारिक निमन्त्रणा नै थियो, न त पूर्वसूचना नै थियो । तैपनि करोडौँ मानिस आफ्नै इच्छाले महाकुम्भका लागि निस्किए र पवित्र जलमा डुबुल्की मारी आनन्द महसुस गरे ।

पवित्र स्नानपछि अपार आनन्द र सन्तुष्टि फैलिएका ती अनुहारहरू म बिर्सन सक्दिनँ । महिला, वृद्धवृद्धा, हाम्रा दिव्याङ्ग दाजुभाइ दिदीबहिनी –सबैले सङ्गम पुग्ने अवसर पाए ।

भारतका युवाको उल्लेखनीय सहभागिता देखेर मलाई विशेष खुसी लाग्यो । महाकुम्भमा युवा पुस्ताको उपस्थितिले भारतका युवा हाम्रो गौरवशाली संस्कृति र सम्पदाको संरक्षक हुने छन् भन्ने महìवपूर्ण सन्देश दिन्छ । उनीहरूले यसको संरक्षण गर्ने आफ्नो जिम्मेवारी बुझेका छन् र यसलाई अगाडि बढाउन प्रतिबद्ध रहेका छन् ।

यस महाकुम्भका लागि प्रयागराजमा आइपुगेका मानिसहरूको सङ्ख्याले निःसन्देह नयाँ रेकर्ड बनाएको छ । भौतिक रूपमा उपस्थित भएका बाहेक प्रयागराज पुग्न नसकेका करोडोँ मानिस पनि यस अवसरसँग भावनात्मक रूपमा गहिरो रूपमा जोडिएका थिए । तीर्थयात्रीहरूले फर्कंदा ल्याएको पवित्र जल करोडौँ मानिसका लागि आध्यात्मिक आनन्दको स्रोत बन्यो । महाकुम्भबाट फर्केका धेरैलाई उनीहरूको गाउँमा सम्मानका साथ स्वागत गरियो र समाजले पनि सम्मान गर्‍यो । 

पछिल्ला केही हप्तामा जे भयो, त्यो अभूतपूर्व रहेको छ र यसले आउने शताब्दीका लागि पनि जग बसालेको छ । प्रयागराजमा कसैले कल्पना गरेभन्दा पनि धेरै भक्तजन आइपुगे । प्रशासनले कुम्भको विगतको अनुभवको आधारमा उपस्थितिको अनुमान गरेको थियो । यस एकताको महाकुम्भमा लगभग संयुक्त राज्य अमेरिकाको दोब्बर जनसङ्ख्याले भाग लिए । आध्यात्मिकताका विद्वान्ले करोडौँ भारतीयहको उत्साहजनक सहभागिताको विश्लेषण गरे भने उनीहरूले थाहा पाउने छन् कि आफ्नो सम्पदामा गर्व गर्ने भारत अब नयाँ ऊर्जाका साथ अगाडि बढिरहेको छ । मलाई विश्वास छ कि यो नयाँ युगको बिहानी हो जसले नयाँ भारतको भविष्य कोर्ने छ ।

महाकुम्भले हजारौँ वर्षदेखि भारतको राष्ट्रिय चेतनालाई बलियो बनाएको छ । प्रत्येक पूर्णकुम्भमा सन्त, विद्वान् र विचारकको भेला हुने गथ्र्यो, जसले आफ्नो समयमा समाजको अवस्थाको बारेमा विचार–विमर्श गर्थे । उनीहरूको चिन्तनले राष्ट्र र समाजलाई नयाँ दिशा प्रदान गथ्र्यो । प्रत्येक ६ वर्षमा हुने अर्धकुम्भमा यी विचारहरूको समीक्षा गरिन्थ्यो । १४४ वर्षको अवधिमा हुने १२ पूर्णकुम्भपछि, प्रचलित समयसँगै अगाडि बढ्न अप्रचलित परम्परा त्यागिए र नयाँ विचारहरू अँगालिए ।

१४४ वर्षपछि भएको यस महाकुम्भमा हाम्रा सन्तहरूले भारतको विकास यात्राका लागि फेरि एक पटक हामीलाई नयाँ सन्देश दिएका छन् । त्यो सन्देश हो –विकसित भारत । यस एकताको महाकुम्भमा हरेक तीर्थयात्री, चाहे धनी होस् वा गरिब, युवा होस् वा वृद्ध, गाउँ होस् वा सहर, भारत होस् वा विदेश, पूर्व होस् वा पश्चिम, उत्तर होस् वा दक्षिण, जात, धर्म र विचारधारा जस्तोसुकै भए पनि सबै एकसाथ आए । यो एक भारत श्रेष्ठ भारतको दृष्टिकोणको मूर्त रूप थियो, जसले करोडौँ मानिसमा विश्वास भरेको थियो । अब हामी विकसित भारत निर्माणको लक्ष्यको लागि उही भावनामा एकसाथ आउनु पर्छ ।

मलाई त्यो घटनाको सम्झना आउँछ जति बेला बालरूप श्रीकृष्णले आफ्नो मुखभित्रको सम्पूर्ण ब्रह्माण्डको झलक आफ्नी आमा यशोदालाई प्रकट गर्नुभएको थियो । त्यसै गरी, यस महाकुम्भमा भारत र विश्वका जनताले भारतको सामूहिक शक्तिको विशाल सम्भावनाको साक्षात्कार गरेका छन् । अब हामीले यो आत्मविश्वासका साथ अगाडि बढ्नु पर्छ र विकसित भारत निर्माणमा आफूलाई समर्पित गर्नु पर्छ ।

पहिले, भक्ति आन्दोलनका सन्तहरूले भारतभरि हाम्रो सामूहिक सङ्कल्पको शक्ति पहिचान र प्रोत्साहन गरेका थिए । प्रत्येक महान विचारक, स्वामी विवेकानन्ददेखि श्री अरविन्दसम्मले हामीलाई हाम्रो सामूहिक सङ्कल्पको शक्तिको सम्झना गराए । महात्मा गान्धीले पनि स्वतन्त्रता आन्दोलनको क्रममा यसको अनुभव गरेका थिए । स्वतन्त्रतापछि यदि यो सामूहिक शक्तिलाई सही रूपमा पहिचान गरिएको भए र सबैको कल्याणलाई बढावा दिन प्रयोग गरिएको भए, यो नयाँ स्वतन्त्र राष्ट्रका लागि एक महान शक्ति बन्ने थियो । दुर्भाग्यवश, यो पहिले नै गरिएन तर अब, विकसित भारतका लागि जनताको यो सामूहिक शक्ति एकसाथ आएको हेर्न पाउँदा म हर्षित छु ।

वेददेखि विवेकानन्दसम्म, प्राचीन शास्त्रदेखि आधुनिक उपग्रहसम्म, भारतका महान् परम्पराले यस राष्ट्रलाई आकार दिएका छन् । एक नागरिकका रूपमा म प्रार्थना गर्छु कि हामी हाम्रा पुर्खाहरू र सन्तहरूको सम्झनाबाट नयाँ प्रेरणा लिन सकौँ । यो एकताको महाकुम्भले हामीलाई नयाँ सङ्कल्प लिएर अगाडि बढ्न मद्दत गरोस् । आउनुहोस्, हामी एकतालाई हाम्रो मार्गदर्शक सिद्धान्त बनाऔँ । राष्ट्रको सेवा नै ईश्वरको सेवा हो भन्ने बुझाइका साथ काम गरौँ ।

काशीमा मेरो चुनावी अभियानको क्रममा मैले भनेको थिएँ, “गङ्गा माताले मलाई बोलाउनुभएको छ ।” यो केवल भावना मात्र थिएन तर हाम्रा पवित्र नदीहरूको स्वच्छताप्रति जिम्मेवारीको आह्वान पनि थियो । प्रयागराजस्थित गङ्गा, यमुना र सरस्वतीको सङ्गममा उभिएर मेरो सङ्कल्प अझ बलियो भयो । हाम्रा नदीहरूको स्वच्छता हाम्रो आफ्नै जीवनसँग गहिरो रूपमा जोडिएको छ । हाम्रा नदीहरू चाहे ठुलो होस् वा सानो, जीवनदाता आमाहरूको रूपमा मनाउनु हाम्रो जिम्मेवारी हो । यो महाकुम्भले हामीलाई हाम्रा नदीहरूको स्वच्छतातर्फ काम गरिरहन प्रेरित गरेको छ ।

मलाई थाहा छ, यति ठुलो कार्यक्रम आयोजना गर्नु सजिलो काम थिएन । हाम्रो भक्तिमा कुनै कमीकमजोरी भएको खण्डमा म गङ्गा माता, यमुना माता र सरस्वती मातासँग क्षमा माग्छु । मैले जनता जनार्दनलाई दिव्यताको अवतारका रूपमा देखेको छु । हाम्रो सेवामा कुनै कमीकमजोरी भएको भए म जनताबाट पनि क्षमा चाहन्छु ।

करोडौँ मानिस भक्तिको भावना लिएर महाकुम्भमा आए । उनीहरूको सेवा गर्नु पनि त्यही भक्तिको भावनाले पूरा गरिएको जिम्मेवारी थियो । म गर्वका साथ भन्न सक्छु कि उत्तर प्रदेशको संसद् सदस्यको रूपमा रहनुभएको योगीजीको नेतृत्वमा प्रशासन र जनताले यो एकताको महाकुम्भलाई सफल बनाउन मिलेर काम गरे । चाहे त्यो राज्य होस् वा केन्द्र, त्यहाँ कुनै शासक वा प्रशासक थिएनन्, बरु सबै जना एक समर्पित सेवक थिए । सरसफाइ कर्मचारी, प्रहरी, डुङ्गा चालक, ड्राइभर, खाना खुवाउने मानिसहरू – सबैले अथक परिश्रम गरे । धेरै असुविधाहको बाबजुद पनि प्रयागराजका जनताले खुला हृदयले तीर्थयात्रीलाई स्वागत गर्ने तरिका विशेष प्रेरणादायी थियो । म उनीहरू र उत्तर प्रदेशका जनताप्रति हार्दिक कृतज्ञता र प्रशंसा व्यक्त गर्छु ।

हाम्रो राष्ट्रको उज्ज्वल भविष्यप्रति मेरो सधैँ अटल विश्वास रहेको छ । यो महाकुम्भको साक्षात्कार हुँदा मेरो विश्वास धेरै गुणा बलियो भएको छ । १४० करोड भारतीयले एकताको महाकुम्भलाई विश्वव्यापी उत्सवमा परिणत गर्ने तरिका साँच्चै अद्भुत छ । हाम्रा जनताको समर्पण, भक्ति र प्रयासबाट प्रभावित भई म चाँडै नै १२ ज्योतिर्लिङ्गमध्ये पहिलो श्री सोमनाथको भ्रमण गर्ने छु र यी सामूहिक राष्ट्रिय प्रयासहको फल उहाँलाई अर्पण गरी प्रत्येक भारतीयका लागि प्रार्थना गर्ने छु ।

महाकुम्भको भौतिक रूप महाशिवरात्रिमा सफलतापूर्वक समापन भएको हुन सक्छ तर गङ्गाको शाश्वत प्रवाह जस्तै महाकुम्भले जागृत गरेको आध्यात्मिक शक्ति, राष्ट्रिय चेतना र एकताले हामीलाई भाबी पुस्तासम्म प्रेरणा दिइरहने छ ।

लेखक  भारतको प्रधानमन्त्री हुनुहुन्छ ।