बैतडी, फागुन १६ गते । द्वन्द्वमा आफन्त गुमाएको परिवार द्वन्द्वको पीडा भुल्न पुख्र्यौली पेसाको सिर्जना कर्ममा लागेको पाइएको छ । पञ्चेश्वरका धर्मराम वड (ओड)ले द्वन्द्वमा मारिएकी आफ्नी १९ वर्षीया दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरेर आफ्नै पुर्ख्याैली पेसा सुरु गर्नुभएको छ ।
पञ्चेश्वर गाउँपालिका–४, आमचोरा स्थित उज्वलगाउँका ३४ वर्षीय युवा धर्मराम वडले पुर्ख्याैली सिपबाट काठका खोलदेली (कलात्मक झ्याल ढोका) मा बुट्टा कोर्दै, मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । पुर्ख्याैली पेसाले द्वन्द्वको पीडा मात्रै भुलाएको छैन, घर परिवारको हातमुख जोर्ने बाटोसमेत पहिल्याएको छ ।
धर्मराम वड १४ वर्षको छँदा जेठी दिदी १९ वर्षीय रोशनी वड (रचना) माओवादीको आरोपमा मारिइन् । घटना स्मरण गर्दै उहाँले भन्नुभयो, “यो २०६१ सालको कुरा हो । त्यति बेला म १४ वर्षको थिएँ । घरको खानतसाली गर्न पटक पटक सुरक्षाकर्मी आउँन थालेपछि केही समय पढ्न पाईन् । शान्ति प्रक्रियापछि प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्न सफल भए ।”
घरको एक्लो छोराका रुपमा रहेका धर्मले विद्यालय शिक्षा पूरा गरेर आर्थिक अभावले उच्च शिक्षा हासिल गर्न सक्नु भएन । चार वटा बहिनी मध्ये जेठी दिदी सहिद भएपछि अन्य तीन वटाको विवाह भयो । राज्यबाट पाएको क्षतिपूर्तिले तीन वटा बहिनीको शिक्षा दिक्षा र आफ्नो पढाइमा सहयोग पुगेको उहाँले बताउनुभयो । तीन वटै बहिनीको विवाहपछि आमा बुवाको हेरचाह गर्ने सहारा नहुँदा धर्मरामले कतै जाने मौमा नपाएपछि बुवा÷ बाजेसँग भएको पुर्ख्याैली सिप सिक्न सुरु गरेको बताउनुभयो ।
उहाँका बाजे दानी वड काष्ठकलाका निकै सिपालु थिए । बाजेबाटै उहाँका बुवा कमल वडले पनि उक्त सिप सिक्नु भएको थियो । कमल वड अहिले ६६ वर्षको हुनुभयो । छोरीको सद्गतिसमेत गर्न नपाएकोमा ६६ वर्षी वृद्ध कमल वड अहिले पनि भावुक बन्नुहुन्छ । छोरीका लागि केही गर्न नसके पनि द्वन्द्वको पीडा भुलाउन उहाँले छोरीका नाममा मूर्तिकला उद्योग सञ्चालन गर्न छोरा धर्मरामलाई सुझाव दिनुभयो ।
पुख्र्यौली सिप सिकेर दिदीका नाममा उद्योग खोल्न सफल हुनु भएका धर्मरामले अहिले दर्जनौ मन्दिरका काठका कलात्मक द्वार निर्माण गरिसक्नु भएको छ । भगवानका मूर्ति बनाइसक्नु भएको छ । सिमेन्टका मूर्ति र गेट निर्माणमा प्रयोग हुने उपकरण उहाँ आफैले स्थानीय आरनमा तयार गर्नु भएको छ ।
काठको काम गर्न आवश्यक पर्ने रन्दा, कटर, बासुलो र विद्युतबाट चल्ने राउटर प्रयोग गर्दै आउनु भएको छ । आर्थिक समस्याले थप उपकरण किन्न नसकिएको उहाँले बताउनुभयो । पुर्ख्याैली सिपको संरक्षणका लागि उद्योगलाई कतैबाट सहयोग नमिलेको पनि उहाँले गुनासो गर्नुभयो ।
काष्ठकलामा मेहनत अनुसारको पारिश्रमिक नपाए पनि विदेश जानु भन्दा पुर्ख्याैली पेसा नै उत्तम ठानेर यसैमा रमाएको उहाँले बताउनुभयो । पुर्ख्याैली पेसा अँगाल्दा गाउँ समाजमा राम्रो परिचय बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पेसामा मेहनत अनुसारको ज्याला छैन, तै पनि विदशमा अरू काम गर्नु भन्दा यही पेसा ठिक छ । विस्तारै सबैले चिन्न थालेका छन् । पञ्चेश्वर गाउँपालिका भन्दा बाहिरका छिमेकी पालिकाबाटसमेत मौलिक घरका खोलदेली र मन्दिर र मूर्ति निर्माणको काम पाइन थालेको छ ।”
सरकारले सहयोग गरेमा पुर्ख्याैली सिप सिकाएर गाउँका युवालाई दक्ष बनाउने धोको रहेको उहाँले बताउनुभयो । धर्मराम वडले पुर्ख्याैली सिपसँगै आधुनिक उपकरणका रूपमा एक्साभेटरको नमुनासमेत तयार गर्नुभएको छ ।
आफैंले बनाएको चौ कोसको साथमा धर्मराम वड (ओड)।