• १७ फागुन २०८१, शनिबार

आधारभूत विद्यालयमा मगर भाषा अध्यापन

blog

वालिङ (स्याङ्जा), फागुन १७  गते ।  बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ ।

मगर भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयमा नै मगर भाषा पठनपाठन  थालिएको हो । हाल कक्षा १–३ सम्मका बालबालिकालाई मगर भाषा अध्यापनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमालले राससलाई बताउनुभयो ।

बाल सिकाइ कक्षादेखि ५ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा कक्षा  एकदेखि तीनसम्मका बालबालिकालाई मगर भाषा अध्यापयन थालिएको हो । 

मगर समुदायको बाहुल्य भएकाले नयाँ पुस्तालाई यो भाषा लेख्न र बोल्न सिकाउने  अभियान आफूहरुले थालेको मगर भाषा शिक्षक लेखबहादुर आलेले बताउनुभयो ।सरकारले प्रकाशन गरेको मातृभाषाको पाठ्यपुस्तकका आधारमा पठनपाठन हुने गरेको छ । 

मगर भाषा अध्यापनका लागि बिरुवा गाउँपालिकाले शिक्षकको व्यवस्था गरेको हो । पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आदिवासी जनजातिको बाहुल्य भएका गाउँपालिकामा उनीहरुका भाषा तथा संस्कृति संरक्षणमा सघाउने विषय समावेश गरेको छ । रासस