• १६ फागुन २०८१, शुक्रबार

उसिना चामल उत्पादन गर्ने मिल अलपत्र

blog

राजापुरमा अलपत्र अवस्थामा रहेको उसिना चामल उत्पादन गर्ने मिल । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), फागुन १६ गते । जापान सरकारको सहयोगमा २०४५ सालमा स्थापना भएको राजापुर आधुनिक चामल कारखानामा रहेको उसिना चामल उत्पादन गर्ने प्लान्ट अलपत्र परेको छ । 

विगत्को द्वन्द्वकालमा क्षतिग्रस्त भएको प्लान्टलाई सरकारले बेवास्ता गर्दा अलपत्र परेको हो । देशमै पहिलो पटक स्थापना भएको उसिना चामल उत्पादन गर्ने प्लान्ट २०५९ सालसम्म सञ्चालनमा रहेको थियो । उत्पादन भएको उसिना चामल देशका विभिन्न स्थानलगायत विदेश समेत निर्यात हुन्थ्यो । 

विशेषगरी सुगर रोगबाट बच्न वा सुगर रोग लागेकाहरूले उसिना चामलको प्रयोग गर्नु उपयुक्त मानिन्छ । नेपालमा सुगर रोगी सङ्ख्या बढेसँगै उसिना चामलको माग समेत बढ्दै गएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्वामित्वमा रहेको उसिना चामल मिल सञ्चालनमा आउन सकेको छैन । 

मिल सञ्चालनका लागि पटक–पटक सङ्घ र प्रदेश स्तरका भ्रमण नभएका भने होइनन् तर पनि हालसम्म मिल सञ्चालनका लागि विस्तृत योजना बनेको छैन । २०५९ सालमा बम विस्फोटपछि क्षतिग्रस्त भएको मिल २०६४ सालमा कम्पनीले मर्मतगरी साधारण मिल सञ्चालनमा ल्यायो । 

उसिना चामल मिल सञ्चालनमा नआउँदा त्यसका सामग्रीहरू झन् क्षतिग्रस्त भएका छन् । मर्मत गरेर सञ्चालनमा ल्याउन सक्ने मेसिनहरू समेत बिग्रन थालेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरका प्रमुख कमलराज पाण्डेले बताउनुभयो । 

‘अझै पनि आवश्यक बजेट उपलब्ध भएमा मर्मत सम्भार गरेर बोइलिङ्ग प्लान्ट सञ्चालन गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो, ‘प्लान्ट सञ्चालनका लागि आवश्यक बजेट कति लाग्छ भन्ने अध्ययन समेत प्राविधिक नभएको कारणले गर्न सकिएको छैन ।’ 

कम्पनीको प्रधान कार्यालय, प्रदेश र सङ्घ सरकारले यसलाई प्राथमिकतामा राखेर अगाडि बढाए यहाँको धानबाट उसिना चामल उत्पादन गर्न सकिने प्रमुख पाण्डेले बताउनुभयो । राजापुरमा पछिल्लो समयमा खेती हुँदैआएको चैते धानका लागि बोइलिङ्ग प्लान्ट अत्यन्त उपयोगी हुने राजापुर नगरपालिकाका कृषक पहारी थारूले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘बोइलिङ्ग प्लान्ट सुरु भएमा चैते धानका लागि ड्रायरमा धान सुकाउने झन्झट समेत पर्दैन ।’ चैतमा रोप्ने मसिनो धानको काट्ने बित्तिकै सिँधै उसिना चामल उत्पादन गर्ने सकिने उहाँले बताउनुभयो ।  

३७ हजार क्विन्टल धान खरिद

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय राजापुरले गत वर्षको तुलनामा दोब्बर परिणाममा धान खरिद गरेको छ । गत वर्ष कम्पनीले १६ हजार क्विन्टल धान खरिद गरे पनि यस वर्ष ३७ हजार क्विन्टल धान खरिद गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले राजापुरको शाखाबाट एक लाख क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको थियो । दोब्बरभन्दा बढी धान खरिद भएको कम्पनी शाखाका प्रमुख कमलराज पाण्डेले बताउनुभयो । 

सरकारले आर्थिक वर्ष २०८१–८२ का लागि मोटा धानको प्रतिक्विन्टल तीन हजार चार सय १० रुपियाँ ५१ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार पाँच सय ८० रुपियाँ ६२ पैसा मूल्य निर्धारण गरेको छ । गत वर्ष मध्यम धानको प्रतिक्विन्टल तीन हजार ६२ र मोटा धानको तीन हजार एक सय ९८ रुपियाँ निर्धारण गरेको थियो । यस वर्ष गत वर्षको तुलनामा धानको समर्थन मूल्य वृद्धि भएको छ । 

कम्पनीले धान खरिद गर्नुभन्दा अगाडि स्थानीय व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गरिरहेका थिए । तर खाद्य कम्पनीले धान खरिद सुरु गरेपछि सरकारको समर्थन मूल्यभन्दा बढी मूल्यमा कृषकले धान स्थानीय व्यापारीहरूले किनेका थिए ।