• १५ फागुन २०८१, बिहिबार

१०औँ राष्ट्रिय खेलकुद जेठ ३ देखि, ६ सङ्घलाई निलम्बन

blog

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२१औँ बोर्ड बैठकमा सहभागी ।

काठमाडौँ, फागुन १५ गते । कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यसअघि राखेपको ११८ औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

६ राष्ट्रिय खेल सङ्घ निलम्बन

बैठकले नेपाल ओलम्पिक कमिटीको अवैधानिक निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल सङ्घलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

निलम्बनमा परेका राष्ट्रिय खेल सङ्घमा नेपाल ब्याडमिन्टन सङ्घ, नेपाल टेनिस सङ्घ, नेपाल साइक्लिङ सङ्घ, नेपाल एथलेटिक्स सङ्घ, नेपाल जिम्न्याष्टिक सङ्घ र नेपाल भारोत्तोलन सङ्घरहेका छन् । 

राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल सङ्घलाई कार्वाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको हो ।