केशवराज भट्ट
बैतडी फागुन १५ गते । जिल्लाका कृषकहरु हिउँदे वर्षा नहुँदा निराश भएका छन् । बर्खायाममा समेत वर्षा नहुँदा बाली उत्पादनमा घाटा व्यहोरेका बैतडीका कृषकहरु हिउँदे वर्षा नहुँदा झन निराश भएका छन् ।
मध्य फागुनसम्म पनि जिल्लाको अधिकांश पाखो जमिनमा गहुँ उम्रिन पाएको छैन । पाटन नगरपालिका १ साकारका गणेश भट्टराईले गत असोजयता पानी नपर्दा कृषकले ठुलो समस्या भोग्नुपरेको दुःखेसो सुनाउनुभयो ।
सिँचाइ सुविधा नहुँदा बैतडीलगायत सुदूरपश्चिमका अधिकांश पहाडी क्षेत्रमा आकाशे वर्षाको भरमा खेती लगाउनुपर्ने बाध्यता छ । नियमित वर्षा नभएको वर्ष खेत बाझै रहने गरेको दशरथचन्द नगरपालिका ९ का कृषक देवदत्त जोशी बताउनुहुन्छ ।
हिउँदेयामको मुख्य बाली गहुँ खेतीका लागि असोजदेखि पानी परेको छैन । यहाँका अधिकांश खेतबारीमा सिँचाइको व्यवस्था नहुँदा प्रत्यक वर्ष कृषकले ठुलो घाटा व्यहोर्नुपरेको छ । अधिकांश पाखो खेतमा फागुन दोस्रो हप्तासम्म गहुँ उम्रिन नपाएपछि आफूहरु चिन्तित बनेको पाटन नगरपालिका १० का कृषक धर्मराज भट्टले बताउनुभयो ।
पसाउने समय नजिकिँदासम्म पनि गहुँका बोट नउम्रेपछि खाद्यान्नको अभाव हुन सक्ने चिन्तामा रहेको उहाँले बताउनुभयो । यस्तै अवस्था रहने हो भने गहुँ काट्नुको सट्टा पशुलाई खुवाउन नल (पराल) पनि नहुने पाटन नगपालिका ३ का कृषक रामदत्र् भट्टले बताउनुभयो । सिँचाइ सुविधा भएको जग्गामा समेत गहुँका बोट फस्टाउन नसकेको भट्टले बताउनुभयो ।
भट्टले भन्नुभयो, ‘‘बर्खामा समेत पानी नपरेकाले खोलाहरुमा पानी छैन । कुलोमा बग्नेसम्म पानी नभएकाले सिँचाइ गर्न पुग्दैन । अब गहुँ फल्ने सम्भावना छैन । वैशाखमै खाद्यान्न अभाव हुने खतरा छ ।’’
बैतडीमा मुख्य हिउँदेबाली गहुँ १२ हजार दुई सय हेक्टर जमिनमा खेती गरिँदै आएको छ । गत वर्ष २२ हजार दुई सय मेट्रिक टन गहुँ उत्पादन भएको भए पनि यो वर्ष उत्पादनमा कमी आउने कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीले बताउनुभयो ।
उहाँका अनुसार यो वर्ष धान, मकै र दालबालीको उत्पादनमा ३५ प्रतिशतले कमी आएको थियो । यसबर्ष मुख्य दाल बाली भट्मासको उत्पादनमा कमी आएको दोगडाकेदार गाउँपालिका २ का मानबहादुर भाटले बताउनुभयो ।
सिँचाइको अभाव, जङ्गली जनावरले क्षति गर्नेलगायतका कारणले खाद्यान्न उत्पादनमा कमी हुँदै गएको कृषि प्राविधिकहरु बताउँछन् । जिल्लामा खेतीयोग्य जमिन ३१ हजार चार सय ८५ हेक्टर छ, जसमध्ये २० हजार पाँच सय ६० हेक्टर अथवा ६५ प्रतिशत मात्रै खेती हुने गरेको ज्ञान केन्द्र प्रमुख जोशीले बताउनुभयो ।
बैतडीमा प्रतिपरिवार ०.६ रोपनी खेतीयोग्य जमिन रहेको प्रमुख जोशीले जानकारी दिनुभयो । बैतडीमा वार्षिक अपुग खाद्यान्न एक लाख ६६ हजार मेट्रिक टन रहेको जोशीले बताउनुभयो । बैतडीमा पछिल्लो तीन वर्षयता उत्पादकत्व स्थिर रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।