• १५ फागुन २०८१, बिहिबार

वैकल्पिक चिकित्सामा विश्वास

blog

आधुनिक विज्ञानले चिकित्सा विधामा संसारलाई महान् उपलब्धि दिएको छ । विगत दुई सय वर्षमा विश्वभर अस्पताल सेवाको व्यापक विस्तार भयो । अनेक रोगका थरी थरीका औषधी र उपचार पद्धतिको अन्वेषण तथा अभ्यास विस्तारित छ । चिकित्सकीय चिरफारले शरीरका अनेक जटिलतम रोगको निदान सम्भव भयो । प्रतिजैविक औषधीको आविष्कार र प्रयोगले मानिसलगायत प्राणीको जीवनलाई सकारात्मक प्रभाव पार्न सक्यो तर आधुनिक चिकित्सामा नवीन अन्वेषण र अभ्यास हुँदै गए पनि रोगव्याधिको विस्तारमा भने विराम लाग्न सकेन । चिकित्सामा नवीन अभ्यास र विस्तारसँगै रोगव्याधिमा पनि विस्तार हुँदो छ । आधुनिक चिकित्सा निरन्तर महँगोसमेत हुँदै छ । कुनै पनि समाज र देशका निम्ति आधुनिक चिकित्साका संसाधन विस्तार अपरिहार्य भए पनि त्यो सहज र सुलभ हुन सकेको छैन । अझ आधुनिक चिकित्सा व्यापारिक प्रयोजनले आकार लिन थालेपछि सर्वसाधारणको पहुँचका निम्ति कठिन हुँदै छ । यो प्रवृत्ति नेपालमा अझै गम्भीर तवरले देखिन थालेको छ । सरकारी अस्पतालमा सीमित सेवाले तमाम सर्वसाधारण लाभान्वित हुन कठिन परेको छ भने निजी क्षेत्रको स्वास्थ्य पद्धति नितान्त व्यापारिक प्रवृत्ततर्फ उन्मुख देखिन्छ । यसले जटिल रोग लागेका सर्वसाधारण आधुनिक चिकित्साको सेवाबाट पर पुग्न थालेका छन् । यो असहजताले बिर्सन थालेको वैकल्पिक चिकित्सा पद्धतिप्रतिको अभ्यास र विश्वासलाई भने बढोत्तरी दिन थालेको देखिएको छ । 

विकल्प भन्नु मूलधार होइन । वैकल्पिक चिकित्सा भन्नु अहिलेका निम्ति आधुनिक चिकित्साको विकल्प मात्र हो भन्न सकिन्छ । समाजमा आधुनिक चिकित्सा विकास हुनुभन्दा अगावै पनि अनेक चिकित्सा पद्धति थिए र तिनको अभ्यास हजारौँ वर्ष पुरानो छ । कतिपय अब्बल अभ्यासलाई पनि आधुनिक चिकित्साको विकासले कुनातिर थान्को लगाइदिएको थियो । आयुर्वेद पद्धति पूर्वी सभ्यतामा हजारौँ वर्षदेखि चल्दै आएको थियो । पूर्वीय सभ्यताको भान्छा नै लगभग औषधीय गुणले भरिपूर्ण चिकित्सालय जस्तो थियो । त्यसै गरी अकुपन्चर प्रणाली पनि आधुनिक चिकित्साभन्दा धेरै पुरानो छ । आधुनिक चिकित्साको विकासक्रमसँगै जर्मनीमा विकास भएको होमियोप्याथिक पद्धतिको विशिष्ट स्थान छ । कुनै पनि औषधीमा सहप्रतिकूल प्रभाव नपारी रोगको कारणसम्मै पुगेर प्राकृतिक तौरतरिकाले उपचार गरिने होमियोप्याथिक पद्धतिको विशिष्टता बेग्लै छ । आधुनिक चिकित्साले निको गर्न नसकेका कतिपय रोगको उपचार होमियोप्याथिकमा सम्भव ठानिन्छ । त्यस्तै गरी प्राकृतिक चिकित्साको अभ्यासले मानिसलाई रोगबाट मुक्त दिने मात्र होइन, दीर्घजीवनतर्फ उन्मुख गराउनेसमेत देखिएको छ । आधुनिक चिकित्साले नसकेको तर वैकल्पिक चिकित्सामार्फत पक्षाघातको उपचार सम्भव भएको समाचार यस दैनिकको बुधबार मुखपृष्ठमै देखिएको छ । सङ्खुवासभाकी अञ्जु राई शौचालयमा लडेर पक्षाघात भई मुलुकको ठुलो अस्पताल वीरमा पुग्दा उपचार नपाएको तर स्पार्क हेल्थ होममा वैकल्पिक उपचारबाट सम्भव भएको छ । पक्षाघातले मुखै बाङ्गिएको, बोल्न नसक्ने भएको र शरीरका कुनै अङ्ग नचल्ने अवस्थाबाट वैकल्पिक चिकित्साबाट बिस्तारै स्वास्थ्य लाभ गरेको परिघटना वैकल्पिक चिकित्साले स्थापित गरेको विश्वास हो ।

नसा च्यापिएर थला परेका कतिपय बिरामीलाई पनि आधुनिक चिकित्साले राम्ररी उपचार दिन नसकेको गुनासो पाइन्छ । त्यसखालका बिरामीलाई शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकको सुझाव र त्यस्तो शल्यक्रिया अति महँगो र जीवनसमेत जोखिममा भएका कतिपय उदाहरणसमेत छन् । मालिस, थेरापी आदिबाट आयुर्वेदिक तथा प्राकृतिक चिकित्सकीय सेवाबाट नसा च्यापिएर थलै बसेका मानिस फेरि पहिल्यैकै अवस्थामा आएको देखिएको छ । लाखौँलाखको खर्च जोगिएर अति सीमित स्वास्थ्य शुल्कमा कतिपय त्यस्ता बिरामीले स्वास्थ्य लाभ गरेको अब्बल अभ्याससमेत देख्न सकिन्छ । नेपालमा मात्र होइन, पश्चिमा जगत् समेत वैकल्पिक चिकित्सा पद्धतितर्फ आकर्षित हुन थालेको छ । चिनियाँ उपचार पद्धति त हजारौँ वर्षदेखि वैकल्पिक चिकित्सा पद्धतिमा अटुट विश्वास र अभ्यासमा निरन्तरता छ । जापान दीर्घ उमेरसम्म स्वस्थ जीवन बिताउने मुलुकमा चिनिन्छ । त्यसको मुख्य रहस्य नै पराम्परागत खाना रहेको छ । भनिन्छ, चीन र जापानमा खानालाई औषधीका रूपमा प्रयोग गरिन्छ । अझ यसो पनि भनिन्छ, खाना अर्थात् भान्छालाई औषधालय बनाउन सकिएन भने समयक्रममा औषधी खानाकै तवरमा खानु पर्छ रे । वास्तवमा यो पनि वैकल्पिक उपचारको आयाम हो । नेपालमा आधुनिक चिकित्सा सस्तो छैन । सरकार वा सर्वसाधारण जसले वहन गरे पनि आधुनिक चिकित्सा महँगो नै छ । त्यसैले वैकल्पिक चिकित्सकीय अभ्यासलाई पनि अगाडि बढाउनु उचित नै देखिन्छ ।