• १४ फागुन २०८१, बुधबार

श्रोवन र प्राचीलाई टेबलटेनिसमा स्वर्ण

blog

स्वर्ण विजेता खेलाडी ।

काठमाडौँ, फागुन १४ गते । दुई भारतीय खेलाडी टिस्टा तोर्सा टेबलटेनिस क्लबका श्रोवन पाउल र दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जित्नुभएको छ ।  यु–१६ सिंगल्सको छात्रमा श्रोवन र छात्रामा प्राची पहिलो हुनुभएको हो । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्र फाइनलमा श्रोवनले एभीएम टेबलटेनिस क्लबका प्रजिल भट्टराईलाई ३–२ ले पराजित गर्नुभयो । श्रोवनले २–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै नतिजा आफ्नो पक्षमा पार्नुभएको हो । 

फाइनल श्रोवनले ६–११, १२–१४, ११–८, ११–८ र ११–८ ले जित्नुभयो । ट्यालेन्ट स्काउट टेबलटेनिस हबका श्रीराज वर्दान र यलका अर्नव श्रेष्ठ तेस्राे हुनुभयो । छात्राको उपाधि भिडन्तमा प्राचीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सचारी चक्रवर्तीलाई ११–१, ११–९ र ११–४ ले सहजै पराजित गर्नुभयो ।

नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ र टिस्टा टोर्साकी श्रुति दास तेस्राे हुनुभयो । यु–१६ को दुवै समूहमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५–५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

ललितपुर टेबलटेनिस क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा चार स्वर्णको टुङ्गो लागेको छ । यसअघि टिम इभेन्टको पुरुषमा ललितपुर टेबलटेनिस क्लब र महिलामा ग्लोबलले स्वर्ण जितेका थिए । प्रतियोगितामा जम्मा नौ स्पर्धा समावेश छन् ।