लीलाधर वली
घोराही, फागुन १४ गते । महाशिवरात्रि पर्वका अवसरमा दाङको पवित्र ऐतिहासिक एवं धार्मिकस्थल पाण्डवेश्वर धाम धारपानीमा पूजाआराधनासँगै मेला लागेको छ । घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिरमा बुधबार बिहानैदेखि पूजासँगै दर्शन गर्ने दर्शनार्थीको भिड लागेको हो ।
शिवरात्रिका अवसरमा पूजा आराधनासँगै दर्शनका लागि उल्लेख्य सङ्ख्यामा भक्तजनको सहभागीता रहेको पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभएको छ ।
अध्यक्ष अधिकारीका अनुसार महाशिवरात्रीका अवसरमा पाण्डवेश्वर धाम धारपानीमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूजा अर्चना गर्नुभएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले पाण्डवेश्वर महादेव मन्दिरमा रहेको विश्वकै अग्लो त्रिशुललाई सलामी अर्पण गरेको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सिता शर्मा, प्रदेशसभा सदस्य लोका विश्वकर्मा, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललगायतको उपस्थिति रहेको थियो । पाण्डवेश्वर धार्मिक धाम धार्मिक तथा ऐतिहासिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण तीर्थस्थलका रूपमा रहेको छ ।
महाभारतकालमा पाण्डवहरू वनवासको क्रममा धारापानीमा आएर तपस्या गरेको धार्मिक मान्यता छ । सोही मान्यताका कारण मन्दिरको नाम ‘पाण्डवेश्वर धाम’ रहन गएको विश्वास रहि आएको छ ।
महाशिवरात्रिको अवसरमा मन्दिरमा सर्वसाधारणका लागि बिहान पाँच बजेदेखि पूजाका लागि ढोका खुला गरिएको थियो । पूजा तथा दर्शनका लागि भिडभाड हुन नदिनका लागि मन्दिरका तीन वटा ढोका खुला गर्नका साथै जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई छुट्टै पूजा गर्ने व्यवस्था मिलाइएको अध्यक्ष अधिकारीले बताउनुभएको छ ।