राधा नेपाली
सन्धिखर्क, फागुन १४ गते । अर्घाखाँचीमा ९५ प्रतिशत किशोरीले (वमेन प्यापिलोमा भाइरस) एचपिभी विरुद्धको खोप लगाएका छन् । पाठेघरको मुखको क्यान्सर विरुद्धको यो खोप जिल्लाका छ पालिकामा अभियानका रूपमा लगाइएको हो।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार सात हजार ९२५ जनालाई लगाउने लक्ष्य राखिकोमा सात हजार ५३७ जनालाई खोप लगाइएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा एक हजार ८०५ जना, भूमिकास्थान नगरपालिकामा एक हजार २२४ र सितगङ्गा नगरपालिकामा एक हजार ४७४ जना किशोरीलाई खोज लगाइएको स्वास्थ्य कार्यालका प्रमुख शिव नेपालीले जानकारी दिनुभयो ।
त्यस्तै, पाणिनी गाउँपालिकामा ९७०, छत्रवेद र मालारानी गाउँपालिकामा क्रमशः ८२१ र एक हजार २४२ जनालाई लगाइएको छ । कार्यालय प्रमुख नेपालीले भन्नुभयो, “एचपिभी खोप अभियान उत्साहका साथ सम्पन्न भयो । किशोरीलाई लगाइने खोप भएका कारणले पनि विद्यालयम गए लगाउँदा सहज पनि भयो ।”
कार्यालयका अनुसार एचपिभी एक प्रकारको भाइरस हो । यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी हो । यो भाइरसको २०० भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । तीमध्ये कम्तिमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउने प्रमुख कारक मानिन्छ । कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई एचपिभी खोप लगाइको हो ।