• १४ फागुन २०८१, बुधबार

एनप्याब्सनमा दुई समूहको छुट्टाछुट्टै महाधिवेशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, फागुन १४ गते । निजी विद्यालय सञ्चालकको एउटा सङ्गठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) मा विवाद आएको छ । विवाद बढेपछि दुई समूहले फरक फरक स्थान र मितिमा फरक फरक महाधिवेशनको मिति तोकेका छन् । 

सुवास न्यौपानेको समूहले आठौँ राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्न लागेको छ । उक्त समूहले आइतबार पत्रकार सम्मेलन गरी महाधिवेशन तयारी पूरा भएको जनाएको छ । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सुवास न्यौपानेले देशको शिक्षा क्षेत्र धेरैतिरबाट प्रभावित बन्दै गएको सन्दर्भमा महाधिवेशनले शिक्षाका समस्याबारे समीक्षा गर्दै नयाँ सुझाव प्रस्तुत गर्ने बताउनुभयो । 

राष्ट्रिय प्याब्सनको अर्को पक्षले पनि फागुन १५ र १६ गते वीरगन्जमा महाधिवेशन गर्दै छ । नेपालगन्जमा सम्पन्न सातौँ महाधिवेशनमा पाण्डव हमाल र सुवास न्यौपानेले डेढ÷डेढ वर्ष नेतृत्व गर्ने लिखित सहमति भएको थियो । सुरुको डेढ वर्ष नेतृत्व गरेका हमालले नेतृत्व छाड्न अस्वीकार गर्नुभएपछि न्यौपानेले सहमति अनुसार अध्यक्षको पदभार ग्रहण गर्नुभएको थियो । यसप्रति हमाल समूहले पाटन उच्च अदालतमा रिट दर्ता गरेकामा अदालतले रिट खारेज गर्दै न्यौपाने समूहलाई वैधानिकता दिएको थियो ।