• १३ फागुन २०८१, मङ्गलबार

नेल्टाको २९ औं सम्मेलन : अङ्ग्रेजी शिक्षाबारे दुई सय प्रस्तुति रहने

blog

नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को २९ औं अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन ।

काठमाडौँ, फागुन १३ गते । नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को २९ औं अन्तर्राष्ट्रिय सम्मेलन फागुन १५ देखि १७ गतेसम्म ललितपुरको लिटिल एन्जेल्स स्कुलमा आयोजना हुँदैछ ।

नेल्टाका अध्यक्ष प्रा.डा.लक्ष्मण ज्ञवालीका अनुसार ‘मेसिन, मानवता र भाषा : अङ्ग्रेजी भाषा शिक्षणमा नखोजिएका विषयहरू’ विषयक तथा १५ भन्दा बढी अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी विषयवस्तुमा आधारित भएर यो सम्मेलन सम्पन्न हुनेछ ।

उहाँले सम्मेलनमा नेपालसहित बेलायत, संयुक्त राज्य अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, भारत, इन्डोनेसिया, बङ्गलादेश, थाइल्यान्ड, रुस, मङ्गोलिया, श्रीलङ्का लगायत २० भन्दा बढी देशका मुख्य एवम् विशेष वक्ताहरूसहित एक हजारभन्दा बढी सहभागी हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार भाषा, अङ्ग्रेजी शिक्षा र व्यवहारिक भाषाविज्ञानका विविध विषयमा स्वदेश तथा विदेशका विभिन्न विज्ञहरू नेपालबाट प्रा. तीर्थराज खनिया, प्रा. जयराज आचार्य, प्रा.लक्ष्मण ज्ञवाली, डा. गंगाराम गौतम, संयुक्त राज्य अमेरिकाबाट डा. दयामुद्रा एन डेन्नेही, इङ्गल्यान्डबाट नीनाज इचापोरिया, सिङ्गापुरबाट प्रा. डा. एल्भिन पाङ, जापानबाट प्रा. डा. रोबर्ट स्ट्राउड, कोरियाबाट प्रा. लिन्डसे एन. हेरोन, थाई टेसोलबाट डा. थानिस थाङकित जारोएनकुन, भारतबाट प्रा.टी. कुमारी खरबमोन र प्रा. जेएन पाटिलको मुख्य टिप्पणी रहने छ ।

बङ्गलादेशका डा. कनिता रिदवाना, मलेसियाका डा. लाशना नन्दकुमारन, मङ्गोलियाका डा. आंखज्या बत्सुरी, रुसका डा. मार्कोभा एलेना, अमेरिकाको रोजर एफ कोहेन, नेपालका शिवकुमार सापकोटा र चन्द्रकान्त भुषाल फिचर स्पिकरका रूपमा रहनुभएको र संयुक्त तथा व्यक्तिगत प्रस्तुति र पोस्टर प्रदर्शनीसहित दु सय भन्दा बढी प्रस्तुति रहने उहाँको भनाइ छ ।

यस्तै, ‘नेपाली सन्दर्भमा अङ्ग्रेजी शिक्षाबारे पुनर्विचार ः नेपालमा भाषिक विविधताको बहुभाषिक व्यवस्थापन’, ‘नेपालमा शिक्षक शिक्षाः प्रतिबद्धता र अभ्यासहरू’ विषयक कार्यशाला तथा सङ्गोष्ठि र कविता सत्रको आयोजना हुनेछ ।

उहाँले सम्मेलनको मुख्य उद्देश्य नेपाल र विश्वभर अङ्ग्रेजी शिक्षामा काम गर्ने संस्थाहरूको व्यावसायिक संस्कृतिको विकास गर्नु र यस क्षेत्रमा गर्नुपर्ने अद्यावाधिक, नविनता र उपलब्धिको आदानप्रदान गर्नु रहेको बताउनुभयो ।

नेल्टाका सल्लाहकार एवम् पूर्व अध्यक्ष हेमन्तराज दाहालले अङ्ग्रेजी भाषा शिक्षण सिकाइका उद्देश्यलाई सवलीकरण गर्न नेल्टाले आफ्नो क्षमता प्रयोग गरेर नेपाल सरकारलाई सहयोग गर्नसक्ने बताउनुभयो ।

पूर्व अध्यक्ष दाहालले भन्नुभयो, “शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र यस मातहतका निकायहरू, विश्वविद्यालयहरूसँग समन्वय गर्दा पाठ्यक्रम निर्माण गर्दा, पाठ्यक्रम र पाठ्यपुस्तकबिचको तादम्यता, परीक्षा प्रणाली, कक्षाकोठामा सिकाइको प्रक्रिया, पछिल्लो समय आएका अपेक्षाकृत सिद्धान्त अनुसार छ कि छैनन । आर्टिफिसियल इन्टलिजेन्सले ल्याउका नयाँ अवसर र चुनौतीलाई आत्मसात् गरेर जहाँ ग्याप छ, त्यहाँ हाम्रो क्षमता प्रयोग गर्ने र सहयोग गर्ने ।”

नेल्टाले सन् २०११ देखि हालसम्म ३५ वटा जिल्लाका सामुदायिक विद्यालयका दुई हजार विद्यार्थीलाई अङ्ग्रेजी भाषा तथा कम्प्युटर लगायत अन्य नेतृत्व विकासका कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

नेल्टाका निवर्तमान अध्यक्ष मोतीकला सुब्बा देवानले नेपालको शिक्षण सिकाइमा अङ्ग्रेजी भाषालाई प्रोत्साहन गर्दै नेल्टा अघि बढेको बताउनुभयो । सम्मेलनमा विश्वका विभिन्न विज्ञसँग सिकाइ अनुभव साटासाट हुने भन्नुुहुँदै यसले नेपालको शिक्षण सिकाइमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

नेल्टाका उपाध्यक्ष एवम् मिडिया संयोजक भीम गौतमले अन्तर्राष्ट्रिय सम्मेलनमार्फत अङ्ग्रेजी भाषा तथा शिक्षण सिकाइका सम्बन्धमा नेपाली जनमानसका साथै अन्तराष्ट्रिय समुदायमा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।