बोमलाल गिरी
नवलपुर, फागुन १२ गते । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृनिकायहरूको सहयोग रोकिने जोखिम बढेको बताउनुभएको छ ।
पाण्डेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कतिपय निर्णयहरूको कारण अमेरिकाबाट प्राप्त हुने सहयोग मात्रै नभई अन्यमित्र राष्ट्रबाट प्राप्त हुने अनुदानहरू समेत कटौतीको जोखिम बढेको बताउनुभयो ।
नेकपा एमाले नवलपुर प्रचार विभागले सोमबार गरेको भेटघाट कार्यक्रममा बोल्दै पाण्डेले ट्रम्पको निर्णयले युएसएआइडी र एमसिसी परियोजनामा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो ।
“युएसएआइडीको सहयोगमा भई रहेका कामहरू रोकिने मात्रै होइन, एमसिसीको दायित्व नेपालले बहन गर्नुपर्ने अन्यौलता समेत सृजना भएको छ । पाण्डेले भनन्नुभयो, “यदी एमसिसी पनि रोकियो भने ठेक्का त भई सक्यो, कि त हामीले ठेक्का अनुसारको भुक्तानी दिएर काम सम्पन्न गर्नु पर्यो १ कि त ठेक्का रद्द गर्दा क्षतिपुर्ति बेहाेर्नुपर्ने हुन्छ ।”
ट्रम्प प्रशासनको निर्णयहरूको कारण युरोपियन युनियनका राष्ट्रहरूमा पनि अन्यौलता पैदा भएको भन्दै उहाँले राष्ट्रिय सुरक्षा, रोजगारी सृजना लगायतमा युरोपियन राष्ट्रहरू केन्द्रित बन्दा नेपाललाई ती राष्ट्रहरूले गर्ने सहयोग पनि कटौती हुनसक्ने जोखिम रहेको बताउनुभयो ।
अन्तर्राष्ट्रिय सहयोग बिना नै हामीले सबै काम गर्न सक्छौं भन्ने स्थितिमा नेपाल नरहेको उहाँको भनाइ थियो । राजश्व सङ्कलन गत आर्थिक वर्षभन्दा पनि कम हुने स्थिति अहिले रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोग रोकिने, राजश्व सङ्कलनमा कमि आउने अवस्थामा पुँजीगत खर्च गत आर्थिक वर्षभन्दा न्यून हुने प्रक्षेपण पाण्डेले गर्नुभयो ।
उहाँले भाषणमा भन्ने र कागजमा लेख्ने गरेर समाजवाद प्राप्त हुन नसक्ने भन्दै उत्पादन र आर्थिक गतिविधिको माध्यमबाट मात्रै समाजवादको लक्ष्य प्राप्त हुने बताउनुभयो । अहिले विश्वव्यापी रूपमा देखिएको व्यापारयुद्ध फरक तरिकाले अगाडि बढिरहेको भन्दै उहाँले समयानुसार नेपाललाई आर्थिक रूपमा सबल बनाउन तर्फ केन्द्रित बन्नुपर्ने बताउनुभयो ।