नेपाली साहित्यको विविध कुञ्जमा कलम चलाउँदै आएकी राधिका कल्पित कथाकारका रूपमा आफूलाई उभ्याउन सफल हुनुभएको छ । २०७७ सालमा ‘बरफका कोइलाहरू’ नामक कवितासङ्ग्रह ल्याएकी कल्पितले भर्खरै ‘सम्मोहन’ कथासङ्ग्रह सार्वजनिक गर्नुभएको छ ।
१४ वटा कथा सङ्गृहीत सम्मोहनमा नारी तथा पुरुषको मनोविज्ञान, बालमनोविज्ञान, नारी आवाज, नारीको अस्तित्व, नारीका सङ्घर्ष, नारीले भोग्नु परेका पीडा र सूक्ष्म यौन मनोविज्ञान प्रस्तुत गरिएको छ ।
नेपाली नारीले समाजमा भोग्नु परेका दुःख र दर्दनाक अवस्थालाई सूक्ष्म तरिकाले कथाका माध्यमबाट प्रस्तुत गरिएको छ । नारी सहनशीलताको प्रतिमूर्ति हो तर नारी रणचण्डी पनि हो । नारीलाई हाम्रै संस्कृति र समाजले कमजोर बनाएको छ । पितृसत्ताको पालनपोषणमा हुर्किएको समाजले पुरुषको अन्याय र अत्याचारलाई ढपक्क ढाकी महिला र पुरुषको दायित्व समाजमा बराबरी भए पनि महिलामाथि नै बढी दमन र शोषण गरेको छ । यस कथामा पुरुषले विभेदपूर्ण पुरातन समाजको प्रतिनिधित्व गरेको छ, महिलाले न्यायिक समाजको ।
सम्मोहन कथासङ्ग्रहभित्रकोे ‘अब लजाउँदैन लज्जावती’ कथा नारीको दर्दनाक अवस्थाबाट सुरु भएको छ । मन अतालिन्छ पढ्दै गर्दा पढ्नेलाई भन्दा यहाँ यथार्थ भोग्नेलाई कस्तो हुँदो हो ? सोच्दै छु म । नारीहरू पुरुषको इज्जतका लागि कसरी दुःखको पराकाष्ठा सहिदिन्छन् अनि पुरुषहरू महिलालाई कसरी वस्तुका रूपमा हेर्ने गर्छन् भन्ने वरिपरि घुम्छ कथा । हो, अघिल्लो पुस्ताका महिला भाग्यलाई दोष दिँदै श्रीमान्ले दिएको दुःखमा पिल्सिन्थे । श्रीमान्लाई ठाडो नजरले हेर्न डराउँथे तर अहिले युग बदलिएको छ । समाज बदलिएको छ । ज्ञानको दु्रतमार्गले सबैको ढोका घच्घच्याएको छ । उत्तरआधुनिकताले प्रवेश गरेको छ । सूचना प्रविधिले साम्राज्य फैलाएको छ । पश्चिमी संस्कारले दैलो टेकेको छ । यी सबैको प्रभावबाट अबका नारीहरू उत्पीडित भएर बस्दैनन् । आफ्नो भविष्यको रेखा आफँै कोर्न सक्ने भएका छन् । अब कसैलाई थाँव्रmाका रूपमा हेर्नु पर्दैन ।
श्रीमान्को यौन इच्छा पूरा गर्न यस कथाकी नायिका निरीह भएर शरीर समर्पण गर्छे । श्रीमान्ले व्रmूर रूपमा नचाहिँदो लाञ्छना लगाउँदै, कुटपिट गर्दै उसलाई पीडाको आहालमा बस्न बाध्य बनाएको छ । कहिल्यै नसोचेका अप्ठ्यारा परिस्थितिहरूलाई विवशतावश स्वीकार गर्नु पनि परेको छ । आफ्नै आँखाअगाडि आमामाथि भएको बीभत्स दृश्यले ती बालकको मनोविज्ञानमा कस्तो असर परेकोे होला ? समाजले अझै पनि छोरा र छोरीबिच किन विभेद गर्छ ? दुइटी छोरी जन्मिसकेर, छोरी भएकै कारण केही सन्तान तुहाएर यस कथाका पुरुष पात्रले छोरा पाउन दबाब दिन्छ कथाकी नायिकालाई । के महिलाको शरीर मेसिन हो ताकि छोरा नपाउन्जेलसम्म बच्चा जन्माइरहोस् ?
यसरी विसङ्गतिविरुद्ध लड्दै जीवनको अस्तित्व खोज्दै आफ्नो स्वको रक्षाका लागि नायिकाले श्रीमान्लाई जेल पठाउँछिन् र एउटै घरमा बस्ने वातावरण नभएपछि श्रीमान्सँग पारपाचुके नै गर्छिन् ।
पितृसत्ताको चव्रmव्यूहमा फसेको हाम्रो समाजले त्यस कार्यलाई सामाजिक मर्यादाको विपरीत सम्झ्यो । शारीरिक र मानसिक अवस्थाको सिकार हुनुभन्दा श्रीमान्लाई त्यागेर स्वच्छन्द तरिकाले बस्नु नै जीवनको ध्येय मानिन् । यो उनका लागि एउटा चुनौती पनि हो । श्रीमान्सँग पारपाचुके गरेपछि पनि उनलाई कुनै पश्चात्ताप छैन । मातृत्वको अस्तित्व राख्दै छोरीलाई पढाउने लेखाउने कार्यमा कुनै कसर बाँकी नराखी उनी स्वयं सरकारी अधिकृत पनि भइन् । अवसर पाएमा महिलाले के गर्न सक्दैनन र ? नेपाली नारीले समसामयिक समयमा, नारीलाई भिराइएको ‘अबला’ को उपमा र शिरको ताजलाई फुकाल्ने गरी नायिका बोल्छिन्, “सङ्घर्षभन्दा ठुलो पाठ केही रहेनछ । समयले मलाई शहनशीला सुशीलाबाट आफ्ना डमरु एक्लै हुर्काउन सक्ने बघिनी बनाइदियो ।”
सदियाँैदेखि पुरुष रमाउने र महिला दबिने परम्परावादी सोच त्याग्दै अबका महिला सशक्त रूपमा आवाज बुलन्द गर्न सक्ने भएका छन् । सामाजिक राजनीतिक, शैक्षिक दृष्टिले अबका महिलाको स्थान उँचो छ । टुटेका सपनाहरूलाई सङ्घर्ष गरेर आफ्नो अँगालोमा राख्न सफल भएकी नायिकाले किन शरीर भोगको अभिलाषा राख्नु प-यो ? एक पटक वितृष्णा पैदा भइसकेपछि फेरि किन यौनप्रति आकृष्ट हुनु प-यो ? अचेतन मनले किन घचेटिरहेको छ नायिकालाई ? पाठकका मनमा यो प्रश्न उब्जन्छ ।
यसरी ‘अब लजाउँदैन लज्जावती’ कथाकी नायिकाले पुरुष दास मनोवृत्तिबाट स्वतन्त्र भई परम्परित सोच त्याग्दै एक व्रmान्तिकारी कदम उठाएकी छन् । आफ्नो जीवनको मूल्यमान्यतालाई उच्च सम्मान दिँदै चुनौतीको शिखर चढेकी छन् । समाजमा केही चलन यस्ता हुँदा रहेछन्; जुन पुस्तौँदेखि वर्तमान अवस्थासम्म आइपुग्दा पनि केही थपघट गरी चलिरहने रहेछ । हो, त्यस्तै चलन अन्तर्गत एक हो ‘ऋतुमास’ । छोरीहरू ऋतुमास हुँदा ‘११ दिनसम्म सूर्य र मर्दको अनुहार हेर्नु हुँदैन’ भन्ने परम्परित मान्यतालाई शिक्षाको माध्यमबाट एक किशोरीले विद्रोहको बिगुल फुक्तै छिन् । धर्मको खोल ओढेर आमाले परम्पराको रक्षा गर्छिन् । छोरी विज्ञानको तर्क निकाली आमा र काकीसँग समाज रूपान्तरणका लागि बहस गर्छिन् । परीक्षण नै उनको अन्तिम हतियार हो ।
बालिकाको ऋतुमास हुँदाको सजीव चित्रण छ यस कथामा । कथा पढ्दै गर्दा साँच्चै नै पाठकलाई बालिकाको गतिविधि एकातिर बसेर टुलुटुलु हेरेको जस्तो लाग्छ । काकीले परम्परित कुरा संवादबाट सिकाउँदा बालिका अन्योलमा परेकी छन् । भन्दै छिन्, “किताबको कुरा पत्याउनी हो कि तपाईंहरूको कुरा ?” परम्परागत अन्धभक्ततालाई ज्ञानले चिरेकी छन् विद्रोही बालिकाले ।
समाजमा नदेखिई बसेका कुरीतिहरूलाई कथामार्फत सशक्त रूपमा पाठकसमक्ष प्रस्तुत गरेकी छन् कथाकार कल्पितले । समाजको गहिराइसम्म पुगेर कथा टिप्न सक्नु कथाकारको विशिष्ट पक्ष हो । परम्परित मूल्य र मान्यतालाई त्यागेर विद्रोह गरेका छन् यिनका दुवै कथा ‘अब लजाउँदैन लज्जावती’ र ‘परीक्षण’ ले ।
भाषा शैली सहज र मिठो छ । आञ्चलिक भाषाको प्रयोगले गर्दा समाजलाई नै उतारेको प्रतीत हुन्छ । प्राकृतिक संवाद र जीवन्त दृश्यमार्फत समाजको वास्तविक चित्र उतार्न सफल छिन् कथाकार कल्पित । नदीको कञ्चन पानी जस्तो बगेका छन्, कथाहरू । शब्द शब्दमा ती पात्रहरूको चित्र विम्ब बन्छ मस्तिष्कमा । यी दुवै कथाका विषयवस्तु र परिवेश फरक फरक छन् तर दुवैले दिन खोजेको सन्देश चाहिँ हानिकारक सामाजिक मुल्य र मान्यतामाथिको विद्रोह हो । एक ठाउँमा कथाकारले बालिकाको मुखबाट “क अक्षर नपढेका हजुरआमा आमा काकीहरूलाई रजस्वलाबारे म केटाकेटीले कसरी बुझाउन सक्नु ?” (पृ.१६६) भनेकी छन् । आमाहरू स्वयंलाई नै यी संवादहरू भन्न नलगाएको भए हुन्थ्यो कि ? आमाहरू त सिङ्गो विश्वविद्यालय हुन्; जुन हिजो अनुभवबाट गरिएको छ । आज परीक्षण गर्दै वैज्ञानिक रूपबाट कुराहरू सत्य हँुदै आएका छन् । ऋतुमासको समयमा ‘११ दिनसम्म सुर्जे र मर्दको अनुहार हेर्नु हुँदैन’ भनी कोठामा बसेकी चेली छोरीको अनुभूतिको कथा हो । यसरी कथाकार राधिका कल्पित यस कथामार्फत सामाजिक यथार्थलाई पूर्णरूपेण पस्किन सफल हुनुभएको छ ।