शिवा तामाङ
काठमाडौँ, फागुन १० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पहिलो भाषा प्रयोगशालाको उद्घाटन गर्नुभएको छ ।
भाषा आयोगद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा शुव्रmबार राजधानीमा आयोजित कार्यव्रmममा बोल्दै मन्त्री पाण्डेले भाषासँग इतिहास, दर्शन, कला, परम्परालगायत मानव सभ्यताकै जगसमेत जोडिने भएकाले भाषाको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका सबै भाषाको प्रवर्धन, संरक्षण नै भाषा आयोगको चुनौती हो भन्नु हुँदै लोपोन्मुख र सङ्कटापन्न भाषा तथा मातृभाषामा अध्ययन, अनुसन्धान गरी प्रवर्धन गर्ने काममा भाषा प्रयोगशालाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पाण्डेले सबै भाषामा संवेनशीलता लुकेको भन्नु हुँदै एक भाषामा भएका विषयवस्तुलाई अन्य भाषामा अनुवाद गर्दा सामान्य कुरा बुझिए पनि ठ्याक्कै भाव र मर्मको अनुवाद भने गर्न नसकिने बताउनुभयो । उहाँले हाल कानुन मन्त्रालयमा पुगेको सङ्घीय भाषा ऐनको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । भाषा आयोगका अध्यक्ष डा. गोपालप्रसाद ठाकुरले सरकारले भाषाको प्रवर्धनका लागि आवश्यक बजेट र कार्यव्रmम बनाएर भाषा आयोगका कर्मचारी र आयोगका पदाधिकारीका लागि काम दिन आग्रह गर्नुभयो ।
उहाँले बजेटको अभावमा नेपालका गौरवपूर्ण अमूर्त सम्पदा लोपोन्मुख, सीमान्तकृत भाषा प्रवर्धनका लागि लक्ष्य अनुसार काम गर्न नसकिएको स्विकार्नु भयो । अध्यक्ष ठाकुरले नेपालभित्रका भाषाका साथै चीन, भारत सीमा क्षेत्रका ‘सीमापारका भाषा’ को समेत अध्ययन, अन्वेषण हुनुपर्ने र भाषा आयोगको सव्रिmय सहभागितामा भाषिक जनगणना गर्नुपर्ने आवश्यकता आंँल्याउनुभयो ।
आयोगका कायममुकायम सचिव डा. लोकबहादुर लोप्चनले आयोगले लोपोन्मुख भाषा कुसुन्डा, लुङ्खिमलगायत पाँच भाषाका लागि तालिमको व्यवस्था गरेर बोल्ने जनशक्ति तयार गरिएको बताउनुभयो । उहाँले प्रदेशस्तरमा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि भाषा आयोगको शाखा, महाशाखाको विस्तार गर्नुपर्ने बताउनुभयो । साथै आयोगको सिफारिस अनुसार बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यतासहित कार्यान्वयनको चरणमा रहेको र गण्डकी, कोशीलगायत अन्य प्रदेशमा पनि तयारी चलिरहेको बताउनुभयो ।
भाषाशास्त्री डा. कृष्णप्रसाद चालिसेले भाषा आयोगमा स्थापना गरिएको भाषा प्रयोगशालामा रहेका प्राविधिक सामग्री भाषा अध्ययनका लागि पूर्ण नभएको तर भएका सामग्रीका मद्दतले भाषाको ध्वनि विश्लेषण, वर्ण निर्धारण गरी सम्बन्धित भाषाको लेखन पद्धतिको विकास गर्न सहयोग पुग्ने बताउनुभयो । भाषा प्रयोगशालामा भाषा विज्ञानका विद्यार्थीले पनि इन्टर्नसिप गर्दै नेपालको भाषा प्रवर्धन संरक्षणमा महìवपूर्ण योगदान दिन सक्ने बताउनुभयो ।
भाषा आयोगका सदस्य डा. अमरराज गिरीले युनेस्कोले सुरु गरेको अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालले विसं २०६६ देखि मनाउन थालेको र आयोगले देशभरका लोपोन्मुख र सीमान्तकृत भाषा बचाउने पहलमा काम गरिरहेको बताउनुभयो । राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा १२४ वटा मातृभाषा रहेका छन् । त्यसमध्ये लोपोन्मुख अवस्थामा पुगेका मातृभाषाको संरक्षणका लागि आयोगले सम्बन्धित लोपोन्मुख भाषाको वर्ण निर्धारण, शब्द सङ्कलन, शब्दकोश निर्माण, पाठ सङ्कलन भाषिक इतिहास लेखन, व्याकरण निर्माण र लोकवार्ता सामग्री सङ्कलनसमेत गरिरहेको आयोगले जनाएको छ । युनेस्कोले सन् २०२२–२०३२ सम्मलाई अन्तर्राष्ट्रिय आदिवासी भाषा दशकका रूपमा मनाउने घोषणा गरेको छ । फेब्रुअरी २१ तारिख विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइन्छ ।