ब्रासिलिया, फागुन ९ गते । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।
“बस र ट्रकको भयानक दुर्घटनामा १२ जना विद्यार्थीको ज्यान गएको यस त्रासदीको दुःखद समाचारबाट हामी जागा भएका छौँ”, राज्यका गभर्नर टारसिसियो फ्रिटासले एक्समा लेख्नुभएको छ ।
साओ पाउलो नागरिक सुरक्षा अधिकारीहरूले एक बयानमा बिहीबार राति भएको दुर्घटनापछि २१ जना घाइतेलाई अस्पताल लगिएको र अधिकांशलाई डिस्चार्ज गरिएको बताएका छन् ।
घाइतेमध्ये एक जना ‘क्रेनियल ट्रामा’ बाट पीडित थिए र अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको अवस्था स्थिर छ ।
फ्रिटासले विद्यार्थीहरू दुर्घटना भएको बेला फ्रान्काको निजी विश्वविद्यालयबाट घर फर्कंदै गरेको बताउनुभयो । “उनीहरूले आफ्नो सपना अधुरो भएको देखे”, उहाँले भन्नुभयो ।
राज्य सरकारको एक विज्ञप्तिमा ट्रक चालकलाई ‘घटनास्थलबाट भागेको, लापरवाहीपूर्वक हत्या र लापरवाहीपूर्वक शारीरिक क्षति पुर्याएको’ आरोप लगाइएको छ ।
सन् २०२४ डिसेम्बरमा दक्षिणपूर्वी राज्य मिनास गेरैसमा बस दुर्घटनामा ४१ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटना सन् २००७ पछि ब्राजिलको सङ्घीय राजमार्गहरूमा भएको सबैभन्दा खराब दुर्घटना थियो । रासस, एएफपी