• १० फागुन २०८१, शनिबार

निजामती विधेयकबारे छलफल गर्न ११ सदस्यीय उपसमिति गठन

blog

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, फागुन ९ गते । निजामति सेवा विधेयकमाथि छलफल गरी छिटो टुङ्गो लगाउन भन्दै उपसमिति गठन भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले निजामती सेवा विधेयकमाथि छलफल गर्न भन्दै नेपाली कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा उपसमिति गठन गरेको हो । ११ सदस्यीय उपसमितिलाई १ महिनाभित्र विधेयक निजामती सेवा विधेयकबारे छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न समय दिइएको छ ।

समिति सभापति रामहरि खतिवडाले उपसमितिमा अशोक राई, ईश्वरीदेवी न्यौपाने, चन्दा कार्की, दिलेन्द्रप्रसाद बडू, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, लीलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे रहनुभएको बताउनुभयो । 

उहाँले उपसमितिले विधेयकमाथि छलफल गरी छिटोभन्दा छिटो टुङ्ग्याउन आग्रह गर्नुभयो ।