केशवराज भट्ट
बैतडी, फागुन ८ गते। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ को सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवलदार लोकेन्द्रबहादुर खडायतको भिरबाट लडेर मृत्यु भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर १ बारिल घर भएका प्रहरी हवलदार खडायत बुधवार बेलुकी घरबाट कार्यालय गइरहेका बेला बारिल भिरबाट लडेर गम्भीर घाइते भएका थिए ।
तत्काल उहाँलाई गोकुलेश्वर अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो ।
मृतक खडायतको शव गोकुलेश्वर अस्पतालमै राखिएको छ । अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट घटनास्थलमा प्रहरी टोली खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो ।