यादवराज पुरी
रौतहट, फागुन ७ गते । मासिदै गएको साल (स्थानीय भाषामा सखुवा) का बिरुवा संरक्षण गरेर रौतहटको जनएकता सामुदायिक वन जिल्लाकै उदाहरणीय बनेको छ ।
राष्ट्रिय एवम् साझेदारी वन क्षेत्रबाट सालका काँचा रुख तथा हुर्कंदै गरेका लाथ्राको चोरी निकासी नरोकिएको अहिलेको अवस्थामा २० लाखभन्दा बढी सालका विरुवा संरक्षण गरी जनएकता सामुदायिक वन चन्द्रपुर उदाहरणीय बनेको हो ।
पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फ रहेको उक्त सामुदायिक वनमा विगत एक दशक अघिदेखि सालका विरुवा संरक्षित छन् । एकसय २१ हेक्टर क्षेत्रफल ओगटेको जनएकता सामुदायिक वनको करिब ५० हेक्टर जमिनमा हुर्किसकेका लगभग ती सालका बिरुवाको ‘ग्रेडिङ’ कार्यसमेत भइसकेको समुहका अधिकारी रामजी तिमल्सिनाले जानकारी दिनुभयो ।
उक्त वनसँग प्रत्यक्ष सरोकार राख्ने दुईसय १० जना उपभोक्ता छन् । जिल्लाको सम्पूर्ण सरकारी, साझेदारी एवम् अन्य सामुदायिक वन क्षेत्रमा हरेक वर्ष डढेलोले क्षति पुर्याउँदै आए पनि जन एकताका उपभोक्ताले आफ्नो वनलाई आगलागीबाट जोगाउँदै आएका छन् । सामुदायिक वन उपभोक्ता समितिले वनक्षेत्रमा डढेलो नियन्त्रण तथा चरिचरन बन्दगरी नियमित गस्ति गरेकाले बिरुवा संरक्षण प्रभावकारी बनेको उपभोक्ता बाबुराम दाहाल बताउनुहुन्छ ।
२०६३ सालमा समुदायमा हस्तान्तरित सो सामुदायिक वन सुरुको अवस्थामा कुकाठ, बुट्यान तथा झाडीले ढाकिएको थियो । २०६७ सालदेखि उक्त क्षेत्रमा आफै उम्रिएका सालको बिरुवा समुदायले संरक्षण गर्दै आएपछि उक्त वन जिल्लामै नमूना सामुदायिक वन बन्नपुगेको हो ।
अहिले समुदायको सक्रियतामा उक्त क्षेत्रमा साल, सिसौ, सतिसाल, बेलजस्ता उपयोगी बोट विरुवा हुर्कनाले वातावरण हरियाली र मनमोहक बनेको छ । सालका पात प्रशस्त उत्पादन भएपछि समितिले टपरी उद्योग सञ्चालन गरी आयआर्जनमा समेत बृद्धि गर्दैआएको उपभोक्ता सम्झना मगरले बताउनुभयो ।
जिल्लामा ४२ वटा सामुदायिक वन दर्ता भए पनि जन एकताले बिरुवा संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्ला वन कार्यालय रौतहटले प्रशंसापत्र प्रदान गरेको छ ।