लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन ६ गते। नेपाली कांग्रेसका पूर्व उपसभापति, केन्द्रीय सदस्य तथा सांसद बिमलेन्द्र निधिले नेपाली कांग्रेसकै योगदानका कारण महिलाको राजनीतिक सहभागिता वृद्धि भएको बताउनुभयो।
मंगलबार जनकपुरधामस्थित आयोजित मधेश प्रदेशमा नेपाली कांग्रेसमा महिला नेतृत्वको अवस्था, अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो।
उहाँले संविधान सभादेखि हालसम्मको राजनीतिक यात्रा स्मरण गर्दै कांग्रेसले महिलाको नेतृत्व विकासमा प्राथमिकता दिएको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो,“कांग्रेसकै पहलकदमीका कारण महिलाले आज विभिन्न तहमा राजनीतिक जिम्मेवारी प्राप्त गरेका छन्।” महिलालाई राजनीतिमा सहभागी गराउने विषयमा पहिलो आवाज उठाउने दल पनि कांग्रेस नै रहेको दाबी गर्नुहुँदै केन्द्रीय सदस्य निधिले भन्नुभयो,“संविधान बनाउने बेला महिलाको ३३ प्रतिशत सहभागिता बारे अवधारण कांग्रेसले ल्याएको हो। जसकारण आज महिला राजनीतिक पदमा पुग्न सकेका छन्।”
संङ्घीयतालाई बलियो बनाउनका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “संविधान संशोधन भएमात्र प्रदेश अधिकार सम्पन्न हुन्छ, प्रदेशलाई अधिकार सम्पन्न बनाउन पनि संविधान संशोधन हुनुपर्छ।”
कांग्रेस महिला विभाग प्रमुख तथा पूर्व उपसभामुख पुष्पा भुसालले अध्यक्षता गर्दै कांग्रेसलाई जनप्रिय पार्टी बनाउने जिम्मेवारी नेताको काँधमा रहेको बताउनुभयो।
उहाँले भन्नुभयो,“नेतृत्व गर्ने व्यक्तिको भूमिका बलियो हुनुपर्छ। मधेशको भूमि क्रान्तिको आधार भूमि हो, नेपालमा संकट आउँदा, मधेशका महिला पनि पुरुषसँग काँधमा काँध मिलाएर अगाडि बढेका छन्।”
कांग्रेसले सातै प्रदेशमा यस्ता कार्यक्रम गर्ने योजना बनाएको भन्नुहुँदै उहाँले महिलाले प्राप्त गरेका हक र अधिकारलाई कांग्रेसले कति सुनिश्चित ग¥यो भन्ने मूल्याङ्कन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।
‘‘केन्द्रीय सदस्य समेत रहनुभएका भुसालले लोकतन्त्रको स्थायित्वका लागि पार्टी संगठनलाई बलियो बनाउने आवश्यक रहेको छ’’, उहाँले भन्नुभयो,“सांसद, मन्त्री वा प्रधानमन्त्री बन्ने उद्देश्यले आन्दोलन गरिएको होइन। लोकतान्त्रिक मूल्य, मान्यताको रक्षा र समृद्धिको लक्ष्य नै हाम्रो प्राथमिकता हो। कांग्रेसले अवसर र मान्यता दिएर महिलाहरूलाई सशक्त बनाउनुपर्छ।”
सहभागीले मधेश प्रदेशमा महिलाको राजनीतिक सहभागिता अझै चुनौतीपूर्ण रहेको बताउँदै आगामी दिनमा नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रममा नेपाली कांग्रेसबाट महिला सांसद, महिला संघका प्रदेश तथा जिल्लाका पदाधिकारी, नेतृ तथा स्थानीय तहका निर्वाचित महिला जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।