काठमाडौँ, फागुन ६ गते । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) पाँच जना कर्मचारीलाई निलम्बित गरेको छ ।
केआइआइटीले मङ्गलबार विज्ञप्ति जारी गर्दै दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आइआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जानकारी दिएको छ । साथै दुई जना सुरक्षा कर्मचारीलाई बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।
‘‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआइआइटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन् । दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ,’’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको छ ।’’
यसैगरी, कर्मचारीहरूले विद्यार्थीलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन अधिकतम् प्रयास गरिरहेको विज्ञप्तिमा भनिएको छ ।
‘‘क्याम्पसमा नेपाली विद्यार्थीलाई फर्काउन सहज बनाउन क्याम्पस ६ मा एक प्रतिबद्ध नियन्त्रण कक्ष चौबिसै घण्टा सञ्चालनमा छ,’’ विज्ञप्तिमा भनिएको छ ।
बुटबल घर भएकी २० वर्षीया प्रकृति लम्सालको आइतबार मृत्यु भएको थियो ।