• ८ फागुन २०८१, बिहिबार

फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरभेटिभ

blog

बर्लिन,  फागुन ४ गते । जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मध्यमार्गी पूर्व चान्सलर एन्जेला मर्केलको लामो समयदेखि सिडियु पार्टीको प्रतिद्वन्द्वी मेर्जले उहाँको खुला द्वार आप्रवासी नीतिको आलोचना गर्नुभएको छ र संसदमा यस विवादास्पद मुद्दामा दक्षिणपन्थी एएफडीको समर्थन स्वीकार गरेर उहाँको आक्रोश बेहोर्नुभएको छ ।

उन्सत्तरी वर्षीय कानुन व्यवसायी मेर्जसँग बलियो व्यावसायिक पृष्ठभूमि छ । लगानी कोष ब्ल्याकरक र धेरै कर्पोरेट बोर्डहरूमा काम गरेर उहाँ करोडपति बन्नुभएको छ तर उहाँले कहिल्यै सरकारी नेतृत्वको पद सम्हाल्नुभएको छैन ।

यद्यपि यी जुझारु वक्ताले राजनेता जस्तो व्यक्तित्व प्रस्तुत गर्न खोज्नुभएको छ र ‘अनुमानित रूपमा अप्रत्याशित’ भनी बताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यवहार गर्न सक्षम भएको विश्वास व्यक्त गर्नुभएको छ ।

वामपन्थी चान्सलर ओलाफ स्कोल्जको त्रिपक्षीय गठबन्धन असफल भएको बेला विपक्षी सिडियु÷सिएसयु गठबन्धनको नेताका रूपमा मेर्जले बाहिरन लागेको ‘हरित–वाम’ सरकारमाथि कडा आलोचना गर्नुभएको छ ।

व्यक्तिगत स्वीकृति दर न्यून भए पनि सर्वेक्षणहरूले लामो समयदेखि स्कोल्जलाई हटाउन र जर्मनीका लागि ‘तीन खेर गएका वर्षहरू’ भनेको अन्त्य गर्न मेर्जले बलियो दाबेदारको रूपमा घोषणा गर्नुभएको छ ।

गत हप्ता संसदमा मेर्जले स्कोल्ज र उहाँका सहयोगीहरूलाई कम्पनी दिवालिया बनाएर पनि आफ्नो सम्झौता चार वर्ष थप्न माग्ने व्यवसाय प्रबन्धकहरूसँग तुलना गर्नुभयो ।

“तपाईंलाई थाहा छ मालिकहरूले हाँस्न छोडेपछि के भन्थे ?” मेर्जले व्यङ्ग्यात्मक रूपमा सोध्नुभयो, “उनीहरूले तपाईंलाई विनम्रतापूर्वक कम्पनी छोड्न अनुरोध गर्थे । सामान्य जीवनमा यस्तै हुन्छ ।”

मेर्जको चुनावी वाचा बिग्रँदो अर्थतन्त्रलाई पुनर्जीवित गर्नु र ‘फेरि गर्व गर्न सकिने जर्मनी’ का लागि बर्लिनको अन्तर्राष्ट्रिय भूमिका पुनर्निर्माण गर्नु रहेको छ ।

शून्य सहनशीलता 

उहाँका कडा प्रस्तावहरूमध्ये शरण खोजे पनि कागजातविहीन आप्रवासीहरूलाई जर्मन सीमाबाट रोक्ने योजना छ । यो कानुनी अधिकार हो । साथै प्रस्तावमा निर्वासनको प्रतीक्षामा रहेकाहरूलाई हिरासतमा राख्ने योजनासमेत छ ।।

मेर्जले विगतमा मुस्लिम आप्रवासीका छोराहरूलाई ‘साना पाशाहरू’ भन्नुभएको थियो र केही युक्रेनी युद्ध शरणार्थीहरूलाई ‘सामाजिक कल्याण पर्यटन’ को आरोप लगाउनुभएको थियो । पछि उहाँले माफी माग्नुपरेको थियो ।

लामो समयदेखिको मान्यता तोड्दै अति–दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को समर्थनमा आफ्नो आप्रवासन कडाइको प्रस्ताव पारित गरेपछि गत महिना मेर्जले संसदमा ठूलो हलचल मच्चाउनुभयो र सडक प्रदर्शनको लहर ल्याउनुभयो ।

दक्षिणपन्थी मोडका अन्य सङ्केतहरूमा मेर्जले ‘शून्य सहनशीलता’ कानुन र व्यवस्था अभियान, गाँजा वैधानिकता उल्ट्याउने, ‘वोक’ नीतिहरू र लैङ्गिक–संवेदनशील भाषा सीमित गर्ने र आणविक ऊर्जामा फर्कने अध्ययन गर्ने वाचा गर्नुभएको छ ।

यी सबैले एएफडीबाट मतदाताहरूलाई फर्काउने मेर्जको तर्क छ ।

तर उहाँले जित्नुभयो भने गठबन्धन साझेदार खोज्दा सम्भवतः स्कोल्जको सोसल डेमोक्रेटसँग केही नीतिहरू नरम बनाउनुपर्ने हुनसक्छ ।

स्कोल्जले आफ्ना प्रतिद्वन्द्वीलाई ‘चिडचिडाहट व्यक्ति’ का रूपमा चित्रण गर्न खोज्नुभएको छ र एएफडीसँगको उहाँको सम्बन्धले एक दिन उहाँले अति–दक्षिणपन्थी पार्टीसँग शासन गर्ने सङ्केत गरेको आरोप लगाउनुभएको छ । उक्त आरोपलाई मेर्जले कडा रूपमा अस्वीकार गर्नुभएको छ ।

समाचार पत्रिका डेर स्पिगेलले मेर्जलाई द्वन्द्वलाई व्यक्तिगत रूपमा लिने र कहिलेकाहीँ रिसको आवेगमा आउनुहुने बताएको छ । रासस/एएफपी