• ८ वैशाख २०८२, सोमबार

नाफामा जाँदै वन निगम

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ४ गते । निरन्तर घाटामा भएको नेपाल वन निगम लिमिटेड पछिल्लो समय नाफामा गएको छ । दी टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड, वन पैदावार विकास समिति गाभेर २०७५ साउन १८ गते सरकारको पूर्ण स्वामित्वको नेपाल वन निगम गठन गरिएको थियो । पछिल्लो समय उक्त निगम मुनाफामा जान थालेको हो । 

नेपाल वन निगम लिमिटेडका कार्यकारी अधिकृत मनबहादुर खड्काले संस्थाले बिस्तारै लय समाउँदै जाँदा मुनाफामा जान सुरु गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८/७९ मा चार करोड घाटा, आर्थिक वर्ष २०७९/८० मा सात करोड घाटा भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा चार करोड, तीन लाख, छ हजार मुनाफा गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष संस्थाले राम्रो काम गरिरहेकाले नाफामा जाने दाबी गर्नुभयो । 

सरकारद्वारा व्यवस्थित वनभित्रका काठ, चिरान, चौकस, भुसलगायत बिक्री गरेर निगमले आम्दानी गर्दै आएको छ । संस्थाको देशैभर चल अचल सम्पत्ति गरेर कुल सात अर्ब रुपियाँभन्दा बढी भएकाले नाफामा लैजान कुनै समस्या नहुने कर्मचारीहरू बताउँछन् । 

वन निगमले मोरङको विराटनगर, बाराको पथलैया, चितवनको भरतपुर र कैलालीको धनगढीस्थित निगमका चार शाखासमेत गरी ३४ जिल्लामा काम गर्दै आएको छ । वन नियमावली–२०७९ को नियम ३५ उपनियम १ र २ मा डिभिजन वनको काठसमेत अनिवार्य रूपमा वन निगमलाई बिक्री गर्नुपर्ने व्यवस्था छ । तर देशैभरका वन डिभिजनले आफ्नो क्षेत्रभित्रको काठ निगममार्फत बिक्री नगर्दा संस्थालाई नाफामा लैजान समस्या हुने गरेको उहाँले बताउनुभयो । निगमलाई विदेशबाट आयात हुने काठ, निजी काठ उद्योगले व्यापारमा असर पार्ने गरेका छन् । तर संस्थाले नाफामा जान व्यापार विस्तार गर्न निरन्तर काम गरेको कार्यकारी अधिकृत खड्काले बताउनुभयो । 

निगमका कार्यकारी अधिकृत खड्काले उतिबेलाको स्मरण गर्दै भन्नुभयो, “मैले नेतृत्व लिएको डेढ वर्ष पुग्दै छ । त्यतिबेला कर्मचारी चाहिनेभन्दा धेरै थिए । भर्खरै गाभेर बनाएको संस्थाले लय समाउन नसक्दा घाटामा थियो । कुशल व्यवस्थापन गर्दै गएपछि मुनाफामा जान थालेको छ ।” त्यतिबेला टिम्बर कर्पोरेसनमा ९० स्थायी र ७५ ज्यालादारी कर्मचारी थिए । वन पैदावरमा ८८ स्थायी, १९ करार र १७८ वन रक्षक (दैनिक ज्यालादारी) कार्यरत थिए । तर अहिले कुल २५० दरबन्दी भए पनि स्थायी १७ जना, करार चार जना र ज्यालादारी ६० जना गरी कुल ८१ जना मात्रै कर्मचारी रहेको खड्काले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “योग्य र सक्षम कर्मचारी प्रतिस्पर्धाका आधारमा नियुक्त गर्न लोक सेवा आयोगमा रिक्त दरबन्दी पठाइएको छ । सबै प्रक्रिया पूरा भइसकेकाले प्रतिस्पर्धाका आधारमा परीक्षा दिएर छिट्टै ल्याउने तयारी गर्दै छौँ ।” उहाँले प्रतिस्पर्धाका आधारमा योग्य कर्मचारी आएमा सबैतिरबाट राम्रो समन्वय भए संस्था सजिलै नाफामा लैजान सकिने दाबी गर्नुभयो ।