गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन ४ गते । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तह (पिजी) को अध्ययनका लागि सरकारी स्वास्थ्य संस्थामा २३१ सिट सङ्ख्या थप गरेको छ । आयोगले गत वर्ष स्नातकोत्तर तहमा ७९५ सिट सङ्ख्या निर्धारण गरेको थियो । यो वर्ष आयोगले २३१ सिट बढाएको हो । अब चिकित्साशास्त्रतर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने एक हजार २६ जनाले निःशुल्क अध्ययन गर्न पाउने छन् ।
आयोगका उपाध्याक्ष प्राडा अञ्जनीकुमार झाले यो वर्ष २३१ सिट बढाइएको जानकारी दिनुभयो । उहाँले १४ वटा संस्थामा सिट सङ्ख्या थप गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशका दुई प्रतिष्ठानमा २२ सहित १४ वटा संस्थामा २३१ सिट थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो । आयोगको १७ औँ बैठकमा पिजीमा २०९ सिट थप्ने निर्णय भए पनि प्रदेशका दुई प्रतिष्ठानहरूको २२ सिट थप गरिएको छ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पिजीमा सिट पाएका छन् । पिजीमा सबैभन्दा बढी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान– न्याम्स (वीर) अस्पताललाई यो वर्ष २५० सिट निर्धारण गरिएको छ । गत वर्ष न्याम्सले १३२ सिट पाएको थियो ।