गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असरबाट प्रभावित आमजनसमुदायको जिउधनको रक्षा गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।
चौधौँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले जलवायु परिवर्तन र यसको प्रभावबारे बिहीबार आयोजित अन्तर्क्रियामा उहाँले जलवायु परिवर्तनका कारण नेपालको हिमाल, जैविक विविधतालगायत आमसमुदायको जीवनमा गहन असर पारेको प्रस्ट पार्नुभयो । सो क्रममा उहाँले जलवायु परिवर्तनको असरबाट आमनागरिकलाई बचाउन सामुदायिक रेडियोले निर्वाह गरेको भूमिका अब्बल रहेको औँल्याउनुभयो । नेपालको सन्दर्भमा सामुदायिक रेडियोले सूचनाको हक पूरा गर्न मात्रै नभएर सकारात्मक सामाजिक रूपान्तरणका लागि विचार निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सामाजिक रूपान्तरण, भाषिक विविधताको संरक्षणमा पनि रेडियोको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । रेडियोको भविष्यबारे चिन्ता व्यक्त गर्दै सुधारिएको रेडियो, प्रविधिमा आधारित र नागरिकको सहभागिता नै रेडियोको दिगोपनाको विकल्प रहेको उहाँले प्रस्ट्याउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्याल, सार्वजनिक सेवा प्रसारण संस्थाका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्ट, अकोराबका अध्यक्ष अर्जुन गिरी, पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मालगायतले सामुदायिक रेडियोहरूको अवस्था पछिल्लो समय जर्जर रहेकाले सुधारका लागि सबैको सामूहिक पहलको आवश्यकता रहेको औँल्याउनुभयो । सो अवसरमा आयोजना गरिएको छुट्टै सत्रमा मौसम परिवर्तन, जलवायु परिवर्तन र सामुदायिक रेडियोको भूमिकाका विषयमा छलफल गरिएको थियो ।