• १ फागुन २०८१, बिहिबार

सुत्केरी सचेतनाका लागि ‘कालो टीका’ अभियान

blog

गलकोट नगरपालिका –१ दुदिलाभाटीमा गठित महिला समूहका सदस्यहरु घरमा सुत्केरी हुने महिलाको विषयमा छलफल गर्दै । तस्बिरः रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन १ गते । पश्चिम बागलुङको निसीखोला गाउँपालिका –६ तिर्खापानी आमा समूहका सदस्यसमेत रहनुभएकी निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उहाँको घरमा ‘कालो टीका’ लगाइदियो । सुत्केरी हुन घर परिवारले स्वास्थ्य संस्थामा जान नदिएपछि बुढाको घरको सामाजिक नक्सामा आमा समूहले ‘कालो टीका’ लगाइदिएको हो ।

निसी स्वास्थ्यचौकीले बुर्तिवाङ अस्पतालमा रिफर गरे पनि सोही ठाउँकी मनदेवी घर्तीले चौथो सन्तानका रुपमा छोरालाई घरमै जन्म दिनुभयो । भिडियो एक्सरे गर्नुपर्ने भएपछि स्वास्थ्य चौकीले घर्तीलाई बुर्तिवाङमा रिफर गरेको थियो । स्वास्थ्य संस्था जानुपर्ने घर्तीले घरमै सन्तान जन्माएपछि घरको सामाजिक नक्सामा पनि ‘कालो टीका’ लागेको छ । 

बुढा र घर्ती त घरमै सन्तान जन्माउने प्रतिनिधि पात्र मात्र हुन् । निसीखोलामा घरमै सुत्केरी हुने र गर्भजाँच नगर्नेको सङ्ख्या अत्यधिक छ । स्वास्थ्य चौकी इन्चार्ज गणेश खड्काका आर्थिक वर्ष २०७९–८० मा एकसय ८ जना सुत्केरी हुने लक्ष्य राखेकोमा २८ जना मात्र स्वास्थ्य संस्थामा आएका थिए । 

२०८०–८१ मा ४७ जना सुत्केरी हुँदा १२ जना त घरमै सुत्केरी हुनुभएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म १६ जनामात्र संस्थामा आएर सुत्केरी भएका छन् भने २ जना घरमै सुत्केरी भएको खड्काले बताउनुभयो ।

घरमा हुने सुत्केरीलाई सामाजिक कलङ्कको रुपमा लिँदै निसीका आमा समूहले ‘कालो टीका’ अभियान चलाइरहेका छन् । घरमा हुने सुत्केरीलाई शुन्यमा छार्ने अभियानस्वरुप आमा समूहले घरको सामाजिक नक्सामा ‘कालो टीका’ लगाइदिने गरेका छन् । निसीका अधिकांश वडाका समुदायमा गठित आमा समूहले यो विधिलाई अवलम्बन गरिरहेका छन् ।

गर्भवती भएपछि ८ पटकसम्म गर्भजाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी प्रोटोकल उल्लङ्घन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूहको बैठक बसेर घरमा ‘कालो टीका’ लगाइने निसीखोला –३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशीला चन्दले जानकारी दिनुभयो । 

निसीमा घुम्ती बसाईं र भौगोगिक कठिनाइका कारण धेरै महिला घरमै सुत्केरी हुनुपरेको चन्दको बुझाइ छ । घरमै हुने सुत्केरी हटाउन ‘कालो टीका’ अभियान सामाजिक विधि भएको निसी स्वास्थ्य चौकीका अनमी ज्ञानकुमारी बुढा बताउनुहुन्छ । उहाँका अनुसार घरमा ‘कालो टीका’ नलाग्न सुत्केरी भएपछि पनि ५ वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्नुपर्ने र आमाले समेत आइरन चक्की खाने प्रावधान पूरा गर्नुपर्छ ।