मानिसलाई बाँच्नका निम्ति खाना, पानी र हावा चाहिन्छ । खाना निश्चित समयको फरकमा भए हुन्छ । दिनमा दुई/तीन पटक खाना चाहिन्छ । मानिस खानाबिना पनि कैयौँ दिन बाँचेका अनेक उदाहरण छन् । सत्याग्रह बस्नेले धेरै दिन नखाएर पनि समाजका निम्ति जीवन बाँच्न सकेको पाउँछौँ । बाँच्नका निम्ति खाना अनिवार्य भए पनि पटक पटक निरन्तर खाइरहनु पर्दैन । बरु पानी पटक पटक नभई हुँदैन । शरीरको सन्तुलन कायम राख्न केही घण्टा बिराएर पानी चाहिन्छ । पानीको अभावमा शरीरिक प्रक्रियामा अवरोध आउन सक्छ । खाना र पानी केही समयको अन्तरालमा भए पनि मानिसको जीवनमा तत्कालै असर पर्दैन तर स्वच्छ हावा मानिसलाई निरन्तर चाहिन्छ । हावाबाट प्राप्त अक्सिजनले श्वासनली हुँदै फोक्सोमा पुगेर हरेक मिनेटमा अनेकौँ पटक रगत शुद्धीकरण गरिरहेको हुन्छ । यो प्रक्रियामा तलबितल हुँदा मानिसको जीवन जोखिममा पर्छ । ज्यानै पनि जान सक्छ । अशुद्ध हावाका कारण अनेक रोगव्याधिले समात्न सक्छ । मानिस बसेको वरिपरिको हावा नै अशुद्ध हुँदा निरन्तर लिइरहनुपर्ने श्वासप्रश्वासमा कस्तो असर पर्ला ? अहिले यो गम्भीर प्रश्न उठेको छ ।
नेपालका विशेष गरी सहरी क्षेत्रमा शुद्ध हावा पाउनु कठिन हुन थालेको छ । चिसोसँगै तुवाँलो बढ्न थालेको छ । काठमाडौँ उपत्यकाका कतिपय क्षेत्रको वातावरण ‘खतरनाक’ रूपले प्रदूषित बनेको छ । मङ्गलबार शङ्खपार्क क्षेत्रमा अत्यन्त दूषित वातावरण रहेको रेकर्ड गरिएको थियो । वायु गुणस्तर सूचकले ४५७ एक्युआई देखाएको थियो । यो मानिसका लागि श्वास लिनै नहुने ‘खतरनाक’ तह हो । त्यस क्षेत्रमा स्थानीय रूपमै धुलो उडिरहेकाले त्यस्तो देखिएको दाबी वातावरण विभागको छ । विभागका निरीक्षक गोविन्द लामिछानेका अनुसार केही दिनअघि ह्वात्तै बढेको तापक्रम घटेर चिसो हुँदा बढेको तुवाँलोले वातावरण अति प्रदूषित बन्न गएको हो । काठमाडौँका कतिपय क्षेत्रमा मात्र होइन, देशकै कतिपय सहरमा पनि स्वच्छ हावा पाउन कठिन भएको छ ।
वायुको गुणस्तर दर्साउने पिएम १० को मात्रा ह्वात्तै बढेर कतिपय क्षेत्रमा २३८.४ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुगेको छ । यो भनेको वायुमा धुलोको कणको उच्चता हो । यो विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार श्वास लिन नहुने वायु हो । सामान्यतया ५० एक्युआईसम्मको वायु श्वास फेर्न मिल्ने मानिन्छ । काठमाडौँबाट उपत्यकाबाहिर जाने प्रमुख मार्गका रूपमा रहेको कलङ्की–नागढुङ्गा सडक क्षेत्रमा पनि अत्यधिक प्रदूषण बढेको देखिन्छ । गुर्जुधारा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग र सडकमार्गका कारण वायुमा अत्यधिक धुलो मिसिने गरेको छ । काठमाडौँबाहेक पोखरा, दाङ, धनकुटा, भरतपुरलगायतका स्थानको वायु प्रदूषित छ । एक सयदेखि १५० एक्युआई देखिन थालेको छ । यस्तो वायु बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीका लागि राम्रो मानिँदैन । त्योभन्दा माथि दुई सय एक्युआईको वायु आमनागरिकका लागि अस्वस्थकर मानिन्छ । २०१ देखि माथिको वायुको गुणस्तर मानव स्वास्थ्यका लागि घातक हुने भएकाले ‘खतरनाक’ समेत मानिन्छ ।
असोजमा बाढी, पहिरो र डुबानका कारक मानिएको घनघोर वर्षायता देशमा हिउँदे वर्षा भएको छैन । कताकतै छिटपुट पानी परे पनि वायुमण्डल सफा गर्ने पानी पर्न सकेको छैन । लामो समय वर्षा नभएकाले वायुमण्डलमा धुलो र धुवाँको तह थुप्रिन थालेको छ । बढेको तातोले माथि उक्लँदै गरेको धुलो र धुवाँ अचानक घटेको चिसोका कारण तल्लो वायुमण्डलमा झर्दा तुवाँलोको रूप लिएको छ । यसले उपत्यकालगायत बाक्लो बस्ती भएका सहरी क्षेत्रमा वायु प्रदूषण उच्च बन्न थालेको छ । हिउँदका दिनमा हावाहुरीले धुलो उडाउँछ । आगो बाल्ने, सुकेको घाँसपात पोल्नाले धुवाँ बढ्ने छ । कतिपय क्षेत्रमा लाग्ने डढेलोले पनि धुवाँको मात्रा बढाउँछ । पराल, छ्वालीलगायतका कृषि उपजसँगै निस्कने सुकेको अवशेष जलाउने प्रवृत्तिले पनि वायुमण्डलमा धुवाँको मात्रा बढाउँदै छ । यसले बिस्तारै बाक्लो बस्ती भएका सहरी क्षेत्र प्रदूषित हुँदै गएको छ । काठमाडौँ उपत्यका त विश्वकै नवौँ प्रदूषित सहर बन्न थालेको समाचार आइरहेको छ । प्रदूषण नियन्त्रणका निम्ति आगो बाल्ने क्रम घटाउँदै जानु आवश्यक छ । धुले सडक देशभर बढिरहेका छन् । धुले सडकमा सवारीसाधन गुड्दा धुलो वायुमण्डलमै पुगेर हावा प्रदूषित बनाउँछ । धुलो र धुवाँ नियन्त्रण गर्दै हरियाली कायम नगर्दासम्म प्रदूषण न्यूनीकरण हुन सक्ने देखिँदैन । वायुमण्डलको स्वच्छता फर्काउन एकीकृत प्रयास आवश्यक देखिन्छ ।