गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १ गते । फागुनमा अधिकांश वाणिज्य बैङ्कको ब्याजदर स्थिर रहेको छ । माघको तुलनामा फागुनमा वाणिज्य बैङ्कहरूको ब्याजदर औसतमा स्थिर रहेको छ ।झन्डै डेढ वर्षदेखि वाणिज्य बैङ्कहरूले लगातार ब्याजदर घटाउँदै आएका छन् । ब्याजदर घटाए पनि कर्जा प्रवाहमा भने बढोत्तरी आउन सकेको छैन ।
फागुनमा दुई बैङ्कले ब्याजदर तलमाथि गरेका छन् भने १८ वटाको स्थिर रहेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैङ्कको औसत ब्याजदर फागुनमा छ प्रतिशत रहेको छ ।
फागुन १ गतेदेखि लागु हुने ब्याजदरमा ग्लोबल आइएमई बैङ्कले बढाएको छ भने लक्ष्मी सनराइज बैङ्कले घटाएको छ । माघको तुलनामा फागुनमा ग्लोबलको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले बढेर छ प्रतिशत पुगेको छ । माघमा ५.७५ प्रतिशत रहेको थियो ।
यस्तै लक्ष्मी सनराइज बैङ्कले फागुनका लागि ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको छ । माघमा ५.७५ प्रतिशत ब्याजदर रहेकामा अहिले घटेर ५.५० प्रतिशत छ । बैङ्किङ प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर न्यून विन्दुमा आएको छ । यता कर्जा प्रवाह हुन सकेको छैन । ब्याजदर घट्दा कर्जा लिनेलाई भने निकै ठुलो राहत हुन्छ भने बचतकर्तालाई मर्का परेको छ । ब्याजदर घट्दा लगानीको वातावरण बनाउन भने सहयोग पुग्ने देखिन्छ ।