गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन १ गते । भारतको गोवा राज्यका स्वास्थ्य तथा सहरी विकासमन्त्री विश्वजित प्रतापसिंह राणेले पशुपतिनाथ मन्दिरमा ३५ किलोग्राम श्रीखण्ड चन्दन प्रदान गर्नुभएको छ । मन्त्री राणेले परराष्ट्रमन्त्री डा. आरजु राणामार्फत पशुपतिनाथ मन्दिरलाई चन्दन प्रदान गर्नुभएको हो । मन्त्री राणेले पाँच वर्षसम्म पशुपतिनाथ मन्दिरलाई प्रतिमहिना ३५ किलोग्राम चन्दन प्रदान गर्ने बताउनुभयो । पशुपतिनाथ मन्दिरमा भक्तजनका लागि एक महिनामा ३५ किलोग्रामसम्म चन्दन चाहिन्छ ।
उक्त कार्यक्रममा परराष्ट्रमन्त्री डा. राणाले नेपाल र भारतबिच सामाजिक, आर्थिक र सांस्कृतिक सम्बन्ध प्राचीनकालदेखि रहँदै आएको स्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रस्ट पार्नुभयो । उहाँले समृद्धि र आर्थिक विकासमा नवीन साझेदारीमार्फत अघि बढ्ने बताउनुभयो ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाका अनुसार पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टको पहलमा गोवाका मन्त्री राणेले पाँच वर्षसम्म चन्दन दिने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “भारतको मुम्बईमा जनवरी १४ देखि २४ सम्म आयोजित १० महाविद्या विष्णु सहश्र कोटि हवनमा महामण्डलेश्वर बाबा कालीदासले मन्त्री राणेलाई पशुपतिनाथ मन्दिरको दर्शनको निम्तो गर्नुभयो । मूल भट्टले चन्दनको व्यवस्थापनका लागि आग्रह गर्नुभयो । धार्मिक पर्यटन अभिवृद्धि गर्ने हाम्रो प्रयास केही हदसम्म सफल भएको छ ।”