• १ फागुन २०८१, बिहिबार

यो सरकारलाई असफल हुने छुट छैन : महामन्त्री थापा

blog

कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापा । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, माघ ३० गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले) को संयुक्त यो सरकारलाई असफल हुने छुट नभएको बताउनुभएको छ । 

नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशनको बुटवलमा आज उदघाटन गर्दै महामन्त्री थापाले मुस्लिम समुदायको सबैभन्दा प्रिय पार्टी कांग्रेस नै रहेको बताउनुभयो । बिगतका चुनावहरुका परिणामले समेत पुष्टि गरेको दाबी गर्नुभयो । 

थापाले तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको पालामा बनेको संविधान र सभापति शेरबहादुर देउवाको पालामा कार्यान्वयनमा गएकोले अहिलेको संविधानप्रति कांग्रेसले जम्मा र स्वामित्व लिने उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले कांग्रेस एमालेको सरकारलाई असफल हुने छुट नभएको भन्दै राम्रा मात्र काम गर्ने अधिकार रहेको समेत बताउनुभयो । ‘संविधानको जिम्मा पनि लिने हो, स्वामित्व पनि लिने हो । सबैको चित्त पनि बुझाउने हो, अरु सरकारभन्दा बाहिर रहेका पार्टीहरुसँग पनि संबाद गर्ने हो ।’ 

थापाले भन्नुभयो, “संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको हो ।” प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकाले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताउनुभयो ।

पार्टीको आगामी महाधिवेशन पूर्व निर्धारित समयमै हुने भन्दै उहाँले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसले स्थपनाकालदेखि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरेको भन्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गर्नुभयोे ।

बर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभइ समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कांग्रेस नेताहरु बालकृष्ण खाण, अब्दुल रज्जाक, देबेन्द्रराज कडेल, नैनसिंह महर, गंगा शाही, अमरसिंह पुन, रामकृष्ण खाँण, जाकिर हुसेन, संसुधिन मिया, सवर मिया लगायतले बोल्नुभएको थियो ।